झापा । अर्जुनधारा ३ का संक्रमित व्यक्तिको परिवारका एक व्यक्तिमा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । श्रीमानमा संक्रमण पुष्टि भएको तीन दिनपछि उनका श्रीमतीमा पनि पुष्टि भएको हो ।
छातीको समस्या रहेका ५१ वर्षीय व्यक्तिमा धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब संकलन गराइ परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । बिरामीको कुरुवाका लागि गएकी ४८ वर्षीया उनकी श्रीमतीमा आज (सोमबार) बिहान संक्रमण पुष्टि भएको अर्जुनधारा ३ का वडाध्यक्ष जीवनकुमार भण्डारीले जानकारी दिए ।
वडा कार्यालय नजिकै संक्रमित व्यक्तिको घर भएकाले आइतबारबाट वडा नम्बर २ र ३ को कार्यालयबाट प्रवाह गरिँदै आएको सम्पूर्ण सेवा बन्द गरिएको छ । संक्रमित ब्यक्तिको कन्ट्याक्टमा आएकाहरुको रिपोर्ट नआउन्जेलसम्मका लागि वडाको सम्पूर्ण काम कारबाही बन्द गरिएको वडाध्यक्ष भण्डारीले बताए ।