विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत मोरङको सुनवर्षी घर भएका कोरोना संक्रमित एक वृद्ध पुरुषको मंगलबार बिहान मृत्यु भएको छ ।
सुनवर्षी नगरपालिका-७ घर भएका ६८ वर्षीय वृद्धको उपचारका क्रममा बिहान ३ बजेतिर मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिए । कोरोना संक्रमण पुष्टि भएपछि विराटनगरको नोबेल शिक्षण अस्पतालले आईसीयूमा उपचाररत वृद्धलाई थप उपचारका लागि असोज १० गते प्रतिष्ठान रेफर गरेको थियो ।
प्रतिष्ठानको कोभिड अस्पतालको भेन्टिलेटरमा राखेर उपचार थालिए पनि संक्रमित वृद्धलाई बचाउन नसकिएको डा। सापकोटाले जानकारी दिए । स्वाबको पीसीआर परीक्षण गराउँदा वृद्धमा असोज ५ गते कोरोना पृष्टि भएपछि नोबेलले आफ्नै आइसोलेसनमा भर्ना गरेर उपचार थालेको थियो । स्वास्थ्य अवस्था थप गम्भीर बन्दै गएपछि प्रतिष्ठानमा रेफर गरिएको नोबेलले जनाएको छ ।
डा सापकोटाले मृतकमा ज्वरो, खोकी र श्वासप्रश्वास सम्बन्धी नयाँ समस्या देखिएको जानकारी दिए । उनका अनुसार उच्च रक्तचाप, मधुमेह र मृगौलाको पुरानै समस्या पनि थियो । वृद्धले मृगौलाको नियमित डाइलासिस गराइरहेको सापकोटाको भनाइ छ । शवको व्यवस्थापन नियम अनुसार हुने उनले बताए ।
यस्तै, विराटनगरको कोशी अस्पतालको आइसोलेसनमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
सुनसरीको दुहवी नगरपालिका-५ का ६० वर्षीय पुरुषको उपचारका लागि अस्पतालमा भर्ना गरिएको केही बेरमै मृत्यु भएको अस्पतालका आइसोलेसन संयोजक एवं बरिष्ठ फिजिसियन डा। लक्ष्मीनारायण यादवले जानकारी दिए । उनका अनुसार ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएकोभन्दै पुरुषलाई सोमबार दिउँसो २ः४५ बजे अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।
तत्काल आइसोलेसनमा राखेर उपचार थालिएका उनको दिउँसो ३ः०५ बजे मृत्यु भएको यादवले बताए । मृत्युपछि स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा राति ८ बजेतिर रिपोर्ट पोजेटिभ आएको उनको भनाइ छ । मृतकमा कुनै दीर्घ रोग रहेको जानकारी नभएको डा यादवले बताए ।