झापा । झापाको मेचीनगर नगरपालिका वडा नं. ४ का वडाध्यक्ष नवीन बराललाई कोरोना संक्रमण पुष्टि भएको छ । आज शनिबार उनको रिपोर्ट पोजेटिभ आएको हो ।
कोरोना भाइरस संक्रमणबाट जोगाउन अहोरात्र अग्रपंक्तिमा खटिने उनलाई नै आज कोरोना संक्रमण भएको छ । काँकरभिट्टाको होल्डिङ सेन्टरदेखि नगरका क्वारेन्टाइनसम्मको व्यवस्थापनमा नगरपालिकाले खटाएका वडाध्यक्ष बराल आज संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा छन् ।
‘बिगत पाँच दिनदेखि रुघा लागेको हुँदा होम आइसोलेसनमै थिएँ,’ वडाध्यक्ष बरालले भने, ‘अस्ति जँचाएको रिपोर्ट आज आयो, पोजेटिभ रहेछ ।’
स्वास्थ्य अवस्था सामान्य रहेको र कोरोनालाई परास्त गरेर फेरि सर्वसाधारणको सेवामा खटिने बरालले दृढता व्यक्त गरे ।
यस्तै, नेपाली कांग्रेस झापाका कोषाध्यक्ष केशवराज पाण्डेलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
मेचीनगर ७ इटाभट्टा निवासी पाण्डेलाई विगत ६ दिनदेखि ज्वरो आएको थियो । तीन दिनअघि स्वाव परीक्षणका लागि पठाइएकोमा आज रिपोर्ट आएको हो ।
‘अहिले ज्वरो घटेको छ, होम आइसोलेसनमै बसेको छु, पाण्डेले भने । उनको जेठो छोरामा समेत कोरोना संक्रमण पुष्टि भएको छ । परिवारका अरु सदस्यको पीसीआर टेस्ट हुन बाँकी छ ।
उनी नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा जनसंसद् दैनिकका अध्यक्ष समेत हुन् । लोकतन्त्र पोष्टबाट