बिर्तामोड । झापाको बिर्तामोडस्थित बिएन्डसी हस्पिटलका ८ जना स्वाथ्यकर्मीसहित आइतबार बिर्तामोड नगरपालिकामा १५ जनालाई संक्रमण पुष्टि भएको छ ।
संक्रमित हुनेमा पूर्वाञ्चल क्यान्सर हस्पिटल बिर्तामोडका मेडिकल सुपरिन्टेन्डेन्ट डा वीरेन्द्र यादव पनि रहेका छन् ।
बिएन्डसी र क्यान्सर हस्पिटल आमने सामने रहेको छ । विराटनगरको विराट मेडिकल कलेजमा पिसिआर परीक्षण गराउँदा डा. यादवमा पोजिटिभ देखिएको हो ।
क्यान्सर रोग विशेषज्ञ डा यादव आफैँले पनि आइतबार विहान सामाजिक सञ्जालमार्फत जानकारी गराएका थिए । उनले आफू निको नभएसम्म ओपिडी सेवामा उपस्थित हुन नसक्ने जनाएका छन् । तर, हस्पिटलले त्यसबारे जानकारी दिन खोजेको छैन ।
बिएन्डसीका थप दुई जना डाक्टरसहित ८ जना स्वास्थ्यकर्मीलाई कारोना संक्रमण भएको स्वास्थ्य स्रोतले न्यूज सञ्जाललाई जानकारी दिएको छ । यसबारे हस्पिटलले आधिकारिक सूचना बाहिर ल्याएको छैन ।
त्यस्तै बिर्तामोडमा सेन्चुरी बैंकमा कार्यरत एक कर्मचारीलाई पनि संक्रमण पुष्टि भएको छ । त्यस्तै वडा नं १, २ र ३ का अन्य पाँच जनालाई संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।