काठमाडौँ । कोरोना संक्रमणबाट २४ घण्टामा थप ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ ।
मृतकमा २ जना महिला र ७ जना पुरुष रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
कोरोना संक्रमणबाट मृत्यु हुनेमा महिलामा काठमाडौँकी ७१ वर्षीया र चितवनकी ४० वर्षीया रहेका छन् । पुरुषमा रुपन्देहीका ७४ वर्षीय, काठमाडौँका ६३ वर्षीय, ६७ वर्षीय र ५० वर्षीय, सुनसरीका ३७ वर्षीय, ८९ वर्षीय र ९० वर्षीय रहेका छन् ।
योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय ४५ पुगेको छ ।
सोमबारमात्र नेपालमा थप ४ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ११ हजार ८ सय २ पुगेको बताएका छन् ।
यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १४ सय ७३ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ७७ हजार २ सय ७७ जना पुगेको छ ।