सुनसरी । कोरोना संक्रमणबाट सुनसरीमा थप चार जनाको मृत्यु भएको छ । इनरुवास्थित स्वास्थ्य कार्यालयकी कोभिड-१९ संयोजक दीक्षा श्रेष्ठका अनुसार मृत्यु हुनेमा धरान उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिकाका संक्रमित छन् ।
चारै जनाको शनिबार मृत्यु भएको उनले जानकारी दिइन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठका अनुसार असोज २० गते कोरोना पुष्टि भएकी धरान-१७ की ६२ वर्षीया महिलाको शनिबार मृत्यु भएको छ । कात्तिक ७ गते प्रतिष्ठानको कोभिड अस्पताल भर्ना गरिएकी उनलाई पहिल्यैदेखि मृगौलासम्बन्धी समस्या थियो ।
यसै गरी धरान-१५ बाझगराकी ५६ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको धरान उपहानगरपालिकाका प्रमुख तिलक राईका स्वकीय सचिव राजेशमान श्रेष्ठले जानकारी दिए । उनका अनुसार बीपी प्रतिष्ठानमा आईसीयू र भेन्टिलेटर नपाएपछि विराटनगरस्थित नोबेल अस्पतालमा उपचार गर्दागर्दै ती महिलाको मृत्यु भएको हो ।
धरान उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार कोरोना संक्रमणबाटै धरान-१३ का ५३ वर्षीय पुरुषको मृत्यु भएको छ । उनको विस्तृत विवरण आउन बाँकी रहेको मेहताले जानकारी दिए ।