झापा । नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष तारामणि सापकोटालाई कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै झापाका पत्रकार संक्रमित भएकाहरुको संख्या ८ पुगेको छ ।

मेची प्रादेशिक अस्पतालको मातहतमा रहेको कनकाई प्रयोगशाला कोटीहोममा बिहीबार पीसीआरका लागि स्वाव दिएका सापकोटाको रिपोर्ट आज पोजेटिभ आएको हो ।

केही दिनयता ज्वरो आउने, जिउ दुख्ने, टाउको दुख्ने लगायतका लक्षण देखिएपछि सापकोटाले पीसीआर परीक्षणका लागि स्वाब दिनुभएको बताइएको छ । भद्रपुरस्थित आफ्नै घरमा होम आइसोलेसनमा रहनु भएका सापकोटाको अवस्था सामान्य रहेको छ ।

हालसम्म प्रदेश नं. १ मा ७० जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको नेपाल पत्रकार महासंघ प्रदेश नं. १ का अध्यक्ष विक्रम लुइँटेलले जनाउनुभएको छ । तीमध्ये सबैभन्दा बढी मोरङका पत्रकारमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।