झापा । बिर्तामोड र गौरीगञ्जमा गरी झापामा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड ५ भद्रपुर पुरानो रोड निवासी ६५ वर्षिय कपुरचन्द चौधरी रहेका छन् ।

उनको गएराति उपचारका क्रममा नोबेल हस्पिटल बिराटनगरमा मृत्यु भएको परिवारले जनाएको छ । योसँगै बिर्तामोडमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ६ पुगेको छ

यस्तै, गौरीगञ्ज गाउँपालिका वडा नं ६ खजुरगाछी बस्ने एक कोरोना संक्रमितको मृत्यु भएको छ । लामो समयदेखि दम र मुटु सम्बन्धी रोगबाट ग्रसित ७१ बर्षिय हेमसागर अधिकारीको उपचारका क्रममा धरान स्थित विपी कोभिड अस्पतालमा गएराति मृत्यु भएको गौरीगञ्ज स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले बताए ।

नियमित उपचार गराउन नोवेल हस्पिटल विराटनगर गएका बेला उनको गत कार्तिक १ गते पिसिआर रिपोर्ट पोजिटिभ आएको थियो । खर्चको अभाव भएपछि त्यहाँबाट उनलाई गौरीगञ्ज कोभिड अस्पतालमा ल्याईएको थियो ।

रगतको मात्रा र मुटुको चाल कम भएर आइसियुमा राखेर उपचार गराउनु पर्ने भएपछि उनलाई कार्तिक ६ गते थप उपचारका लागि धरान लगिएको थियो । धरानमा उनलाई भेन्टिलेटरमा राखेर उपचार गराईएको थियो । गौरीगञ्जमा पहिलो कोरोना संक्रमितको मृत्यु भएको हो ।