विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना संक्रमणको अवस्थाअनुसार प्रदेश सरकारले काम गरिरहेको बताउनुभएको छ । कोरोना संक्रमणको मात्रा हेरेर प्रदेश सरकारले स्टेप चालिरहेको उहाँले बताउनुभयो ।
विराटनगरमा निजी क्षेत्रको सक्रियतामा प्रदेश सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको साझेदारीमा कोशी कोभिड अस्पताल परिसरमा निर्माण भइरहेको आइशोलेसन केन्द्रको अनुगमन गर्दै मन्त्री घिमिरेले भन्नुभयो, ‘नेपालमा कोरोना संक्रमण देखा परेलगत्तै कोभिड अस्पताल निर्माण शुरु गरियो ।’ संक्रमित बढेसँगै कोभिड अस्पतालको क्षमता विकास र प्रदेशका विभिन्न स्थानमा आइशोलेसन केन्द्रहरु थप गर्दै लगिएको मन्त्री घिमिरेले बताउनुभयो ।
निजी क्षेत्रसँगको साझेदारीमा अक्सिजनसहितको १ सय वेडबाहेक प्रदेश सरकारले कोभिड अस्पताल परिसरमै रहेको भवनमा विशिष्टिकृत सेवासहितको थप १ सय वेड निर्माणको काम भइरहेको जानकारी दिनुभयो । संघीय सरकार, प्रदेश सरकार र विराटनगर महानगरपालिकाको सहयोगमा विशिष्टिकृत सेवा सहितको १ सय वेड तयार गरिने उहाँले बताउनुभयो । मन्त्री घिमिरे भन्नुभयो, ‘निर्माण कार्य धमाधम भइरहेकाले चाँडै सञ्चालन गरिनेछ ।’
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले निजी क्षेत्रबाट काम शुरु गर्दा छिटो हुने बताउनुभयो । अक्सिजनसहितको वेड तत्काल आवश्यक भएकाले सरकारी प्रक्रियामा ढिलो हुने भएकाले भएकाले निजी क्षेत्रसँगको साझेदारीमा काम शुरु गरिएको उहाँले बताउनुभयो । उहाँले महानगर क्षेत्रमा संक्रमण बढ्दै गएकाले स्वास्थ्य सुरक्षा अपनाउन पनि आग्रह गर्नुभयो ।
नागरिक केयर सेन्टरका संयोजक उद्योगी पवन सारडाले तिहार अगावै अक्सिजनसहितको वेड सञ्चालनका लागि काम भइरहेको बताउनुभयो । सरकारले थप वेडको आवश्यकता महसुस गरेको खण्डमा त्यसका लागि नागरिक केयर सेन्टर तयार रहेको उहाँले बताउनुभयो ।