झापा । झापामा आज फेरि तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकाका तीनै जना पुरुष हुन् ।

दमक ७ का अन्दाजी ५० बर्षीय वस्ती थरका पुरुषको नोबेल हस्पिटल विराटनगरमा मृत्यु भएको हो । नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार हिजोमात्रै नोबेल हस्पिटल पुर्याइएका ती ब्यक्तिको कोरोना परिक्षणको रिपोर्ट हिजो नै पोजिटिभ आएको थियो ।

उपचारका क्रममा उनको आज बिहान मृत्यु भएको हो । यससंगै दमकमा कोरोना संक्रमित मृतकको संख्या १६ पुगेको छ । दशैं शुरु भएयता मात्रै दमकका कोरोना संक्रमित ७ जनाको मृत्यु भएको तथ्याङक छ ।

त्यस्तै कमल गाउँपालिका वडा नं ५ मंगलबारेका ७२ वर्षका खरेल थरका एक बृद्धको घरमै मृत्यु भएको छ । मिर्गौलाका विरामी ती बृद्धको विराट मेडिकल कलेज हस्पिटल विराटनगरमा संक्रमण पुष्टि भएको थियो । उनी होम आइसोलेसनमा बसेका थिए । योसँगै कमलमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँखया ३ पुगेको गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताइन् ।

त्यस्तै गौरादह ९ का ७४ वर्षिय बृद्धको पनि कोरोना संक्रमणबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

तथ्यांकमा तीन जनाको विवरण खुले पनि नेपाली सेनाले भने आज झापामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको जनाएको छ । हिजो पनि झापामा तीन जनाको मृत्यु भएको थियो । योसँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ४३ पुगेको छ ।