दमक । आइतबारमात्र ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको रिपोर्ट आएको दमक नगरपालिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ । आज (आइतबार) साँझ फेरि एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै आज दमकमा कोरोना भाइरस संक्रमितको मृत्यु हुनेको संख्या ३ पुगेको छ ।
पछिल्लोपटक मृत्यु हुनेमा दमक नगरपालिका वडा नं ७ की शाक्य थरकी ५५ वर्षिया महिला रहेकी छन् । ती महिलालाई उपचारका लागि दमकको एड्भान्स हस्पिटल ल्याउँदा ल्याउदै साँझ ६ बजे बाटैमा मृत्यु भएको हो । उनलाई चार दिनअघि कोरोना पुष्टि भएको दमक नगरपालिकाका स्वास्थ्य शाखाका कुवेर भट्टराईले बताए ।
यो सँगै दमकमा आज मात्र तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । दमकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या १८ र जिल्लामा ४७ पुगेको छ ।
यसअघि दमक नगरपालिकाका दुई, कमल गाउँपालिका र गौरादह नगरपालिकाका एक–एक गरी चार जना पुरुषको निधन भएको थियो । जसमा दमक ७ का ४९ बर्षिय वस्ती थरका पुरुषको नोबेल हस्पिटल विराटनगरमा मृत्यु भएको हो । शनिबार मात्रै नोबेल हस्पिटल पुर्याइएका ती ब्यक्तिको कोरोना परिक्षणको रिपोर्ट शनिबार नै पोजिटिभ आएको थियो । उपचारका क्रममा उनको आइतबार बिहान मृत्यु भएको हो ।
त्यस्तै दमकमा आइतबार नै अर्का एक कोरोना संक्रमितको मृत्यु भएको थियो । मृत्यु हुनेमा दमक नगरपालिका वडा नं २ का दंगाल थरका ६७ वर्षिय बृद्ध रहेका छन् । उनको आइतबार दिउँसो नोवेल हस्पिटल विराटनगरमै मृत्यु भएको हो । उनलाई कात्तिक १० गते उपचारका लागि विराटनगर लगिएको थियो ।
त्यस्तै कमल गाउँपालिका वडा नं ५ मंगलबारेका ७२ वर्षका खरेल थरका एक बृद्धको आज नै घरमै मृत्यु भएको छ । मिर्गौलाका विरामी ती बृद्धको विराट मेडिकल कलेज हस्पिटल विराटनगरमा संक्रमण पुष्टि भएको थियो । उनी होम आइसोलेसनमा बसेका थिए । योसँगै कमलमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ३ पुगेको गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताइन् ।
त्यस्तै गौरादह वडा नं ४ मिलन चोकका ७४ वर्षिय कृष्णबहादुर निरौलाको शनिबार राति ९ बजे मृत्यु भएको हो । उनलाई कात्तिक १३ गते संक्रमण पुष्टि भएको थियो । उनको घरैमा मृत्यु भएको गौरादह नगरपालिकाका स्वास्थ्य शाखाका गोविन्द श्रेष्ठले बताए । योसँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ४७ पुगेको छ ।