बिर्तामोड । कोरोना संक्रमणबाट झापामा थप २ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा एक जना पुरुष र एक जना महिला रहेकी छन् । मृत्यु हुने महिला स्वास्थ्यकर्मी हुन् ।
आज बिहान मृत्यु हुनेमा बिर्तामोड ५ का ६२ वर्षिय देवीप्रसाद भट्टराई रहेका छन् । उनको आज बिहान २ बजे उपचारका क्रममा विराट मेडिकल कलेज विराटागरमा मृत्यु भएको हो । कात्तिक २ गते उनलाई संक्रमण पुष्टि भएपछि सोही दिन विराटनगर लगिएको थियो ।
मृतकको शव लिनका लागि बिर्तामोड नगरपालिकाको शवबाहन पठाइएको परिवारले जनाएको छ । मृतक अलैची व्यवसायी निर्मल भट्टराईका बुवा हुन् । योसँगै बिर्तामोडमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ७ पुगेको छ ।
यसैगरी, दमककी एक स्वास्थ्यकर्मीको पनि कोरोना संक्रमणबाट निधन भएको छ । दमक नगरपालिका वडा नं ८ घर भई विराट मेडिकल कलेज विराटनगरमा कार्यरत स्टाफ नर्स ६५ वर्षिया लमु तामाङको मृत्यु भएको हो ।
उनको हिजो बेलुका ८ बजे मृत्यु भएको र घटनाबारे परिवारलाई खबर गरिएको दमक नगरपालिकाका स्वास्थ्य शाखाका कुवेर भट्टराईले बताए । योसँगै हिजो कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या दमकमा ४ पुगेको छ । दमकमा हालसम्म संक्रमणबाट १९ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको सँख्या ४१९ पुगेको छ ।