विराटनगर । प्रदेश १ मा कोरोना संक्रमित र मृत्यु हुने दर मोरङमा उच्च रहेको छ । प्रदेशमा आइतबारसम्ममा १९ हजार ५ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि हुँदा मोरङमा मात्र ९ हजार २७२ जना छन् । त्यसमध्ये ३ हजार ७३७ जना सक्रिय संक्रमित छन् ।
मोरङका संक्रमित मध्ये ३ हजार चार सय एकजना महिला र ५ हजार ८७१ पुरुष छन् । प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा आइतबारसम्ममा १ सय ६६ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । मोरङका ७० जना छन् ।
प्रदेशका १४ वटै जिल्लामा कोरोना संक्रमित भेटिएका छन् । त्यसमध्ये संखुवासभा, खोटाङ, भोजपुर, पाँचथर, ओखलढुंगा र सोलुखुम्बुमा कोरोना संक्रमणबाट कसैको पनि ज्यान गएको छैन । मन्त्रालयको तथ्यांक अनुसार आइतबारसम्ममा मोरङमा ९ हजार २७२ जना संक्रमित पुष्टि हुँदा ७० जना र सुनसरीमा ६ हजार ४३७ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ६५ जनाको ज्यान गएको छ ।
त्यसैगरी झापामा २ हजार २३७ जना संक्रमित भेटिदा २४ जना, उदयपुरमा ३ सय २० र तेह्रथुममा ६० जनामा संक्रमण पुष्टि हुँदा दुई-दुई जनाले ज्यान गुमाएका छन् ।
त्यस्तै, इलाम, धनकुटा र ताप्लेजुङमा कोरोनाबाट एक, एक जनाको ज्यान गएको मन्त्रालयको तथ्यांक छ । इलाममा १९९, धनकुटामा ११० र ताप्लेजुङमा ३५, संखुवासभामा १५७, खोटाङमा ५५, भोजपुरमा ५१, पाँचथरमा ३९, ओखलढुंगामा ३५ र सोलुखुम्बुमा १९ जना संक्रमित छन् ।
प्रदेशमा पुष्टि भएका संक्रमित मध्ये आइतबारसम्ममा १० हजार ८९१ जना निको भएर डिस्चार्ज भएका छन । यो प्रदेशमा शनिबारमात्र ६ जनाको मृत्यु भएको थियो । नोबेल मेडिकल कलेजमा चार तथा विराट मेडिकल कलेज र म्याक्स अस्पतालमा एक-एक जनाको मृत्यु भएको थियो ।