राजु पौडेल,
झापा । झापाको अर्जुनधारास्थित शनिश्चरे अस्पतालको मातहतमा सञ्चालित रमेश फार्मेसीले बिरामीलाई औषधिबाट समेत ठगिरहेको तथ्य फेला परेको छ । डाक्टरको पुर्जीअनुसार बिल बनाएर कम मुल्य पर्ने औषधि बिरामीलाई दिएर बढी मुल्य असुलेको पाइएको हो ।

गत असोज २० गते अर्जुनधारा–६ की लिलादेवी गौतमले डाक्टरको सिफारिसमा अस्पतालको मातहतमा सञ्चालित रमेश फार्मेसीबाट मधुमेह रोगको औषधि खरिद गरेकी थिइन् । डाक्टरको सिफारिस बमोजिम स्वास्थ्य बिमामार्फत् प्राप्त हुने लिनागिल्फिटिन ५ एमजी र मेटाफरमिन ८५० एमजी औषधी फार्मेसीले बिरामी गौतमलाई दिनुपर्ने हो तर फार्मेसीबाट लिनागिल्फिटिन २ दशमलव ५ एमजी र मेटाफरमिन ५०० एमजी एउटै कम्पोजिसन भएको औषधी भन्दै लिन्टर एम ५०० दिइएको छ ।

तर, फार्मेसीले बिमा रकम दाबी गर्न बिल भने डाक्टरको पुर्जीअनुसार बनाइएको छ । फार्मेसीले लिनागिल्फिटिन प्रतिचक्की १६ रुपैयाँ र मेटाफरमिन ३ रुपैयाँ ४० पैसाका दरले बिरामीबाट रकम लिइएको छ । तर, फार्मेसीले उपलब्ध गराएको लिन्टर एम मुल्य प्रतिचक्की १४ रुपैयाँ मात्रै पर्छ । यसरी एउटै औषधीबाट फार्मेसीले ३ सय २४ रुपैयाँ बिरामीलाई ठगेको पाइएको छ । ‘डाक्टरले लेखेको अनुसार फार्मेसीबाट औषधि दिनुभएनछ’, गौतमले भनिन्, ‘बिमाबाट पाउनुपर्ने औषधी थियो, त्यो नदिएर कम दामको औषधी दिएको रहेछ ।’

फार्मेसी सञ्चालक खेम बस्नेत भने आफ्नो गल्ती स्वीकार गर्दै आगामी दिनमा त्यसो नगर्ने बताउँछन् । ‘हामीले मानसिकरुपमा औषधि खाँदा ठिक हुन्छ भन्ने अभिप्रायले त्यो औषधि दिएका हौँ’, बस्नेतले भने, ‘त्यसमा हाम्रै गल्ती हो, होइन त्यसो नगरिदिनुस् भन्नुहुन्छ भने अबदेखि गर्दैनौँ ।’

अस्पताल प्रशासन भने फार्मेसीको ठगी ढाकछोप गर्ने प्रयास गर्छ । अस्पतालका प्रमुख रविन्द्र ओलीले विरामीको आग्रहमै फार्मेसीले औषधि दिएको हुनसक्ने जिकिर गर्छन् । ‘बिरामीले त्यहीँ औषधि मागेको हुनसक्छ’, उनले भने, ‘त्यही भएर एकपटक भेट्न पाए हुन्थ्योँ ।’

यसअघि सो फार्मेसीले बिग्रिएको औषधि बिक्री गरेको भेटिएको थियो । स्वास्थ्य बिमाबापत प्राप्त भएको औषधि बिग्रिएको जानकारी गराए पनि उक्त औषधि पटकपटक बिक्री भइरहेको चरम लापरबाही गरेको पाइएको थियो ।