काठमाडौँ । कोभिड १९ का बिरामीले एकभन्दा धेरैलाई संक्रमण सार्ने क्रम बढिरहेकाले आगामी दिनमा महामारी तीव्र रूपमा फैलने संकेत देखिएको छ ।

केही दिनयताको कोभिडको ‘आर-भ्याल्यु’ (रिप्रोडक्सन रेट) ले त्यस्तो संकेत देखाएको हो । एक जनाबाट कति व्यक्तिमा संक्रमण विस्तार भइरहेको छ भनेर आर-भ्याल्युले देखाउँछ ।

नेपालमा कोभिडको आर-भ्याल्यु औसत १.१५ छ । जबकि भारतमा त्यो दर १.० मात्र छ । आर-भ्याल्यु १ भन्दा कम हुनु वा कम हुँदै जानु संक्रमण घट्दै जानु हो । आर भ्याल्यु २ छ भने यसको अर्थ एक जना संक्रमित व्यक्तिले अन्य दुई जनालाई संक्रमण सारेको बुझिन्छ । दादुरा अत्यन्त संक्रामक भएकाले यसको आर भ्याल्यु करिब १८ हुन्छ । अर्थात् एक जना दादुरा संक्रमितले १८ जनासम्मलाई संक्रमण फैलाउन सक्छन् ।

‘असारको पहिलो साता दोस्रो लहर उच्च बिन्दुमा पुगेर ओरालो लागेका बेला आर भ्याल्यु ०.६ सम्म झरेको थियो,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक एवं स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेल भन्छन्, ‘पछिल्लो केही दिनमा आर-भ्याल्यु करिब दोब्बर भएको छ ।’ उनका अनुसार दोस्रो लहर उच्च हुँदा आर-भ्याल्यु २ भन्दा बढी देखिएको थियो । त्यसबेला ७५ जिल्लामै निषेधाज्ञा लगाइएको थियो ।

चीनको वुहानमा भेटिएको कोभिड भेरिएन्टमा आर-भ्याल्यु २.६ सम्म देखिएको थियो । अल्फा भेरिएन्टमा ४ देखि ५ र हाल विश्वमा आक्रामक रूपले फैलिरहेको डेल्टा भेरिएन्टमा आर-भ्याल्यु ५ देखि ८ सम्म हुन सक्ने विज्ञको भनाइ छ ।

नेपालमा करिब शतप्रतिशत संक्रमितमा डेल्टा भेरिएन्ट देखिएको डा पौडेलले बताए । गत असार ३१ गते गरिएको पछिल्लो जिनोमिक सिक्वेन्सिङमा शतप्रतिशत नमुनामा डेल्टा भेरिएन्ट देखिएको थियो । त्यसमध्ये करिब ८ प्रतिशतमा डेल्टा प्लस (एवाई.१) समेत फेला परेको थियो ।

निषेधाज्ञा खुल्नासाथ अनियन्त्रित रूपमा भीडभाड, मास्कको प्रयोगमा हेलचेक्य्राइँ र स्वास्थ्य मापदण्ड पालनामा लापरबाहीजस्ता कारणले आर भ्याल्यु बढेको विज्ञहरूको भनाइ छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।