काठमाडौं । कोरोना भाइरस विरुद्धको दुवै डोज खोप लगाएका ९० प्रतिशत व्यक्तिमा भाइरसविरुद्ध एन्टिवडी बनेको पाइएको छ ।
असार २१ गते देखि साउन ३० गतेसम्म देशभरका खोप लगाएका र नलगाएका १३ हजार १ सय ६१ जनामा गरिएको सर्वेक्षणले खोप लगाएका ९० प्रतिशत व्यक्तिको शरीरमा एन्टिवडी बनेको पाइएको स्वास्थ्य मन्त्रालयले आज जारी गरेको सूचनामा जनाइएको छ ।
यस्तै १ डोजमात्र खोप लगाएका व्यक्तिको शरीरमा भने ८० प्रतिशत एन्टिवडी बनेको मन्त्रालयले जनाएको छ ।
६ महिनामाथिको उमेरलाई समेटेर देशभरै गरिएको सर्वेक्षणले ६८ दशमलव ६ प्रतिशत व्यक्तिको शरिरमा कोरोना भाइरस विरुद्धको एन्टिवडी रहेको देखाएको छ ।
मन्त्रालयले हाल नेपालमा लगाईरहेको खोप निकै प्रभावकारी देखिएको भन्दै सबैलाई आफ्नो पालोअनुसार खोप अभियानमा सहभागी हुन आग्रह समेत गरेको छ ।