बिर्तामोड । बिएन्डसी हस्पिटलमा बिना चिरफार रगतको नशा (रक्तनली)मा गरिने अप्रेसनमा सफलता मिलेको छ ।
अत्याधुनिक प्रविधि र दक्ष चिकित्सक भित्रिएसँगै टाउको फुकालेर गरिने नशासम्बन्धी अप्रेसन अब सहजरुपमा बिना चिरफार हुन थालेको हस्पिटलले जनाएको हो । अप्रेसनका लागि करिब १ वर्षअघि अत्याधुनिक प्रविधि भित्र्याइए पनि कोरोना कहरका कारण उल्लेख्य उपचार भने गर्न नसकेको हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईले जानकारी दिए ।
न्यूरोसम्बन्धी आज आयोजित पत्रकार सम्मेलनमा बिना चिरफार नशासम्बन्धी गरिने अप्रेसन विधि इन्टरभेसनल न्यूरो सर्जरीबाट बिरामीको रोग तत्काल पत्ता लगाएर उपचार चाँडो हुने भएकाले टाउको फुकालेर गरिने उपचारभन्दा जोखिम कम हुने न्यूरो सर्जन डा. करुणा ताम्राकारले बताइन् ।
उनका अनुसार इन्टरभेसनल न्यूरो सर्जरी विधिका लागि आवश्यक सामग्री बाहिरबाट झिकाउनुपर्ने भएकाले सुरुमा खर्चिलो देखिए पनि उपचार थालेपछि बिरामीलाई तत्काल डिस्चार्ज गर्न सकिने, बिना चिरफारले जोखिम कम हुने र बिरामी तथा उनका आफन्तले हस्पिटलमै बस्नुपर्ने बाध्यता हुने छैन ।
टाउकोमा रहेका रगतको नशा फुट्ने (ब्रेन एन्यूरिजम), पक्षघात, मस्तिष्कघातजस्ता नशासम्बन्धी रोगका लागि बिना चिरफारको अप्रेसन बिएन्डसी हस्पिटलमा सम्भव भएकाले नयाँ आयाम थपिएको डा. ताम्राकारको दाबी छ । उनले काठमाडौँबाहेक पूर्वाञ्चलको बिर्तामोडमा मात्र यो उपचार रहेको पनि दाबी गरिन् ।
नशा फुटेर आउने समस्याजस्ता घटना भएको ४ घण्टाभित्र हस्पिटल ल्याउन सके उपचार सम्भव भएको उनको भनाइ छ । तर, ठुलो समस्या भएपछि र समय बितेपछि मात्र बिरामी उपचारका लागि हस्पिटल आउने गरेको उनको अनुभव छ ।
रक्तनलीमा उच्च रक्तचापका कारण बेलुनजस्तो फुल्ने र जतिखेरै पनि फुट्ने सम्भावना अधिक भएकाले पनि यसको समयमै परीक्षण गराउन उनको सुझाव छ । यस्तो समस्या हरेक ५० जनामध्ये १ जनामा रहेको तथ्यांक उनले प्रस्तुत गरिन् ।
पक्षघात भएका बिरामीलाई समयमै हस्पिटल ल्याएको खण्डमा अप्रेसन नगरी औषधिको प्रयोगबाट पनि निको पार्न सकिने चिकित्सकले बताएका छन् । समयमै ल्याए कुनै अंगभंग नहुने, साधारण व्यक्तिजस्तै बिरामीले हिँडडुल गर्ने र बोल्न सक्ने औषधिकै प्रयोगबाट हुने बताइएको छ ।
बिएन्डसीमा हालसम्म १०७ जनाको एन्जिओग्राफीको माध्यमबाट परीक्षण गरिएको र जसमध्ये १२ जनाको बिना चिरफार सफल अप्रेसन गरिएको पनि डा. ताम्राकारले जानकारी दिइन् ।
कार्यक्रममा कार्यकारी निर्देशक प्रसाईले न्यूरो सर्जरीको सवालमा अमेरिका र युरोपमा हुने गुणस्तरीय सेवा बिएन्डसीमा सम्भव भएको बताए । उनले अबको मिसन बिएन्डसीमै मुटु, फोक्सो र मिर्गौला प्रत्यारोपण गर्ने रहेको पनि सुनाए ।
यसैबीच, दसैँको समयमा पनि अन्य समयमा जस्तै बिएन्डसी र पूर्वाञ्चल क्यान्सर हस्पिटलको ओपीडी सेवा सञ्चालन हुने हस्पिटलका सूचना अधिकारी प्रमिश गिरीले जानकारी दिएका छन् ।