बिर्तामोड । झापा बिर्तामोडको पूर्वाञ्चल क्यान्सर अस्पताल तथा बिएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरले संयुक्तरुपमा तीन महिनासम्मका लागि महिलाको पाठेघर र स्तनको निःशुल्क जाँच गर्ने भएको छ ।
।
हस्पिटलले सोमबार बिर्तामोडमा वडादशैको अवसर पारेर पत्रकारसँग शुभकामना आदान–प्रदान गर्दै आजैका मितिदेखि ३ महिनासम्मका लागि पाठेघर र स्तनको निःशुल्क जाँच गर्ने जानकारी दिएको हो ।
हस्पिटलका कार्यकारी निर्देशक प्रसाईले महिलाहरुमा विशेष गरी क्यान्सर रोगको समस्या देखिने गरेको र अस्पलामा स्वास्थ्य जाँचका लागि आउने सम्पूर्ण महिलाहरुमा क्यान्सर रोग भए/नभएको पत्ता लगाउन स्क्रिनिङ गर्दै मेमोग्राम समेत गरिने भएको बताए ।
मानिस स्वास्थ्य र सुखी रहनु पर्छ भन्दै अस्पतालका कार्यकारी निर्देशक प्रसाईले झापाका मात्रै दुई लाख महिलाको अस्पतालले निःशुल्क स्वास्थ्य जाँच गर्ने र दोस्रो चरणमा इलाम, पाँचथर, ताप्लेजुङ सहित पूर्वी पहाडी जिल्लाका महिलाको स्वास्थ्य जाँच गर्ने अस्पतालको कार्यक्रम रहेको बताए ।
यसैबीच, दशैँमा हस्पिटलका सम्पूर्ण सेवा २४सै घण्टा सञ्चालन रहने डा वीरेन्द्र यादवले बताए । शुभकामना आदान प्रदान कार्यक्रममा डा उमेशकुमार शर्मा, पत्रकार उमाकान्त खनाललगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीले गरेका थिए ।