बिर्तामोड । जिल्ला कारागार झापाका ६९ जना महिला कैदीबन्दीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।

 

बिएण्डसी अस्पताल बिर्तामोडको सहयोगमा कारागारमा रहेका कैदीबन्दीको बुधबार निःशुल्क स्वास्थ्य जाँच गर्दै औषधिसमेत निःशुल्क बितरण गरिएको हो । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको प्रमुख आतिथ्यमा भएको स्वास्थ्य जाँचका क्रममा कारागारमा रहेका अधिकांश महिला कैदीबन्दीमा छाला तथा यौन रोगको समस्या देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

 

कारागारमा रहेका कैदीबन्दीको अस्पतालका स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा उपाशना कोइरालासहित फिजिसियन डा रोशन काफ्ले, चर्मरोग विशेषज्ञ डा निस्तुक बराल, नेत्ररोग विशेषज्ञ कृष्ण रजक, अर्थोपेडिक सर्जन डा राजीव शाह लगायतले महिला कैदीबन्दीको स्वास्थ्य जाँच गरेको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए ।

 

कारागारमा स्वास्थ्य जाँचका लागि एक जनामात्र अहेव हुँदा जिल्ला कारागार झापामा रहेका कैदीबन्दीलाई समस्या हुने गरेको पाइएसँगै बीएण्डसी अस्पतालले कारागारमै पुगेर निःशुल्क स्वास्थ्य जाँच गर्दै औषधिसमेत बितरण गरेको हो ।

 

विशेषगरी महिला कैदीबन्दीको स्वास्थ्यमा आइपर्ने समस्याका विषयलाई लिएर अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाई चिकित्सकको टोलीसहित कारागार पुगेका थिए ।

 

प्रसाईले त्यहाँ रहेका कैदी बन्दीलाई स्वास्थ्यमा कुनै समस्या देखिए बीएण्डसी अस्पताल पठाउन आग्रह गरेका थिए । उनले अस्पतालमा आएका महिला कैदीबन्दीको निःशुल्क स्वास्थ्य जाँच गर्दै औषधि उपचार गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

 

उनले अस्पतालले आयोजना गरेको कार्यक्रममा बोल्दै भनेका छन्– कारागारमा रहेका कुनै कैदीबन्दीलाई समस्या भए २०र२० जनाको संख्यामा अस्पताल पठाइदिनुहोस् उपचार गरेर पठाइदिन्छौं ।

 

अस्पतालले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले सामाजिक उत्तरदायित्व अन्तरगत कारागारभित्र बन्दी जीवन बिताइरहेका महिलाको स्वास्थ्यलाई प्रथमिकतामा राख्दै अस्पतालले स्वास्थ्य जाँचसहित निःशुल्क औषधि बितरण गर्नु आफैंमा उदाहरणीय कार्य भएको बताए ।

 

यसैबीच, पूर्वाञ्चल क्यान्सर अस्पतालका कार्याकारी निर्देशक समेत रहेका प्रसाईले महिला कैदीबन्दीका लागि एक थान टेलिभिजन, एक थान म्युजिक सिस्टम, एक थान पानी तान्ने मोटर र सरसफाइका लागि फ्यूमिकेटर समेत प्रदान गरेका छन् ।

 

सो सामग्री प्रमुख जिल्ला अधिकारी तिमिल्सिनालाई हस्तान्तरण गरेका थिए । सो अवसरमा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक सानुराम भट्टराईको समेत आतिथ्य रहेको थियो ।