शनिश्चरे । भर्खरै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेद्वारले क्लिन स्विप गरेका छन् । प्रतिनिधिसभामा गठबन्धनका उम्मेद्वार र स्वतन्त्र उम्मेद्वार तथा प्रदेशसभामा नेपाली कांग्रेस र नेकपा माओवादीलगायतका उम्मेद्वारलाई पराजित गर्दै तीनवटै स्थानमा जीत हासिल गरेको हो ।
प्रतिनिधिसभामा नेकपा एमालेका उम्मेद्वार देवराज घिमिरे निर्वाचित भएका छन् । उनले निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेद्वार स्वागत नेपाललाई पराजित गरेका हुन् । मतगणनाको पहिलो चरणबाटै टक्कर दिइँरहेका नेपालले अन्तिम मतगणनामा हार स्वीकार गर्नु परेको हो । निर्वाचनकाे मत परिणाम भने भाेलि साँझमा हुनसक्ने क्षेत्रीय निर्वाचन कार्यालयले जनाएकाे छ ।
मतदाता तथा क्षेत्रबासीले गठबन्धनसँग एमालेको टक्कर पर्ने सम्भाना आँकलन गरे पनि स्वतन्त्र उम्मेद्वार नेपालसँग एमालेको आमने सामने भएको हो । गठबन्धका उम्मेद्वार हरिकुमार राना तेस्रो स्थानमा रहे । उनी गठबन्धनका तर्फबाट हसियाँ हथौडा अंकित चुनाव चिह्नमा थिए ।
विजेता बनेका एमालेका उम्मेद्वार घिमिरेले २१ हजार ५९ मतले स्वतन्त्र उम्मेद्वार नेपाललाई जितेका हुन् । मतगणनाका क्रममा केही पटक घिमिरेलाई पछि पारेपछि स्वतन्त्रका उम्मेद्वारले जित्ने आँकलन गरिएको थियो । प्रजातन्त्र तथा लोकतन्त्र स्थापनापछि यस क्षेत्रलाई नेकपा एमालेको लाल किल्लाको रुपमा हेरिँदै आएको छ ।
निर्वाचन कार्यालयका अनुसार एमालेका घिमिरेले २८ हजार ६९७ मत ल्याउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । उनले स्वतन्त्रका उम्मेद्वार नेपाललाई २ हजार २५६ मतको फराकिलाे अन्तरले पराजित गरेका हुन् ।
स्वतन्त्रका उम्मेद्वार नेपालले २६ हजार ४४१ मत प्राप्त गरेका थिए । यस्तै, तेस्रो स्थानमा गठबन्धनका साझा उम्मेद्वार हरिकुमार रानाले १३ हजार ९२४ मत ल्याए भने चौथो स्थानमा स्वतन्त्रका उम्मेद्वार अनिरुद्र गिरीले ८ हजार ७७७ मत ल्याए ।
यसअघि नै नेकपा एमालेका उम्मेद्वारले झापा क्षेत्र नम्बर २ को प्रदेशसभामा दुवै उम्मेद्वारले जीत हासिल गरिसकेका छन् ।
झापा २ (१) मा एकराज कार्की दोस्रो कार्यकालका लागि प्रदेशसभा सदस्य निर्वाचित भए । यस्तै, २ (२)मा चिन्तन पाठक निर्वाचित भए । कार्की १२ हजार ६३० मतान्तरले निर्वाचित बनेका हुन् । उनले १८ हजार ७३१ मत ल्याउँदा उनका प्रतिष्पर्धी एकीकृत समाजवादीका पुष्प पोखरेलले ६ हजार १०१ मत ल्याएका छन् । अन्तिम मत परिणाम आइसके पनि निर्वाचन अधिकृतको कार्यालयले घोषणा गर्न बाँकी रहेको छ ।

मतगणना सकिसकेको बताउँदै निर्वाचन अधिकृत केशवप्रसाद पन्तले केहीबेरमा विजयी उम्मेदवार घोषणा गर्ने जानकारी दिएका छन् । कार्की यसअघि पनि सोही क्षेत्रबाट प्रदेश सांसद निर्वाचित भएका थिए । त्यस्तै हाम्रो नेपाली पार्टीका भक्तबहादुर भुजेलले ३ हजार २४२ मत ल्याई तेस्रो स्थान हासिल गरेका छन् ।
झापा २ (२) मा निर्वाचित कार्की पार्टीका प्रदेश कमिटी सचिव हुन् । राप्रपासँग चुनावी तालमेल गरी उम्मेदवार बनेका पाठकले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खगेन्द्र मैनालीलाई ३ हजार ८४० मतान्तरले पराजित गरेका हुन् । मैनाली सत्तारुढ गठबन्धनका साझा उम्मेदवार थिए । पाठकले २० हजार १ सय ८४ मत प्राप्त गरेका छन् भने मैनाली १६ हजार ३ सय ४४ मत ल्याएका छन् ।
त्यस्तै स्वतन्त्र उम्मेदवार अनिरुद्र तिम्सिनाले २ हजार ६१४ मत ल्याएका छन् ।पराजित मैनाली कांग्रेस क्षेत्रीय सभापति हुन् । पाठक २०७४ सालको स्थानीय तह सदस्य निर्वाचनमा बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा उठेका थिए । त्यसबेला उनलाई काँग्रेसका रमेश भुजेलले पराजित गरेका थिए ।