बिर्तामोड । यसवर्ष झापामा ९ लाखभन्दा बढी नागरिकलाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ । अभियान सफल बनाउन स्वास्थ्य कार्यालय झापाले पत्रकारहरुसँग अन्तरक्रिया गर्दै यसबारे जानकारी दिएको हो ।
स्वास्थ्य कार्यालय झापाले बिर्तामोडमा आज (सोमबार) अन्तरक्रिया गर्दै फागुन ११ गतेदेखि जिल्लामा हात्तीपाइले रोगविरुद्धको आम औषधि खुवाउने कार्यक्रम रहेको जनाएको छ । यसवर्ष ९ लाख ९ हजार ५३७ जनालाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने स्वास्थ्य कार्यालय झापाले लक्ष्य लिएको छ ।
हात्तीपाइले रोगविरुद्धको औषधि खान हुने र नहुने समूह, औषधि सेवन गर्दा ध्यान दिनुपर्ने कुराहरु, रोगको परजीवीमुक्त हुन के गर्ने, रोगबाट बच्न कस्तो औषधि सेवन गर्ने र त्यसले के गर्ने, यसअघिको औषधि सेवनको अवस्था, यसवर्ष औषधि खुवाइने लक्षित संख्यालगायतका विषयमा पत्रकारहरुसँग अन्तरक्रिया गरेको हो ।
झापामा दैनिक ज्यालादारी गर्ने मजदुर, दीर्घरोगी, केही जातीय समुदाय, निरक्षर दलित, सहरीबासी, उच्च वर्ग र सरकारी कर्मचारीहरुले कम औषधि सेवन गर्ने गरेको सर्वेक्षण क्रममा देखिएको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले जानकारी दिए ।
यसअघि दुई वटा औषधि सेवन गराइँदै आएकोमा यसपटक एउटा औषधि थपेर खुवाउन लागिएको छ । यसअघि दुई वटा औषधि कम्तीमा पाँच वर्षसम्म सेवन गर्नुपर्नेमा औषधि थप हुँदा दुई वर्षमात्र औषधि सेवन गर्दा हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।
यसअघि उमेरको आधारमा खुवाइँदै आएको हात्तीपाइले रोगविरुद्ध औषधि यसवर्ष भने उचाईका आधारमा खुवाइने जनस्वास्थ्य अधिकृत झापाका विश्वनाथ श्रेष्ठले जानकारी दिए । अन्तरक्रिया कार्यक्रममा बिर्तामोड नगर स्वास्थ्य शाखा प्रमुख राजिव विष्ट र बिर्तामोडका स्वास्थ्य फोकल पर्सन दीपक सापकोटाले बिर्तामोड नगरको औषधि सेवनसम्बन्धि जानकारी गराएका थिए ।