शनिश्चरे । हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान आज बिहीबारदेखि झापाकाे अर्जुनधाराको ११ वटै वडामा सुरु भएको छ । ‘अर्जुनधारा नगरपालिकाको आव्हान्, हात्तीपाईले रोगमुक्त नगर हाम्रो अभियान’ भन्ने मुख्य नारासहित औषधि खुवाउने अभियान सुरु भएको हो ।
अभियानको उद्घाटन नगरकी उपप्रमुख खड्गमाया पराजुलीले नगरपालिकाको कार्यालयमा आयोजित एक कार्यक्रममा गरेकी थिइन् । फागुन २१ गतेसम्म सञ्चालन हुने अभियान अन्तर्गत नगरपालिकाका सबै ११ वटा वडाहरुमा औषधि खुवाइने स्वास्थ्य शाखाका संयोजक मुकुन्द बस्नेतले जानकारी दिए ।
संयोजक बस्नेतका अनुसार औषधि खुवाउने अभियानमा ३५ जना स्वास्थ्यकर्मी र ३५ जना स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको छ ।
दुई वर्षमुनिका बालबालिका, गर्भवती महिला तथा सात दिनभित्रका सुत्केरी र ओच्छ्यान लागेका सिकिस्त बिरामीबाहेक सबैले हात्तीपाइले रोगबाट उत्पन्न हुने समस्याबाट छुट्कारा पाउन अनिवार्य यो औषधि सेवन गर्न सकिने शाखाले जनाएको छ ।
गत आर्थिक वर्षमा २-५ वर्षसम्मका ३ हजार ६५० जना, ६-१४ वर्षसम्मका १२ हजार १५३ जना र १५ वर्षभन्दा माथिका ४३ हजार ४२९ जना गरी जम्मा ५९ हजार २३२ जनाले औषधि सेवन गरेको शाखाको तथ्यांक रहेको छ ।
यसवर्ष नगरपालिकाको स्वास्थ्य शाखाले ६८ हजार जनालाई हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गराउने लक्ष्य लिएको स्वास्थ्य संयोजक बस्नेतले जानकारी दिएका छन् ।