झापा । अर्जुनधारा ३ स्थित खुदुनाबारीमा जारी स्व लिम्बूनी ठूली स्मृति कप २०८१ को दोस्रो क्वाटर फाइनलमा आयोजक च्यारिटी युथ क्लबलाई सडन डेथमा ५-४ गोलले पराजित गर्दै इन्ट्रा पथरी ११ मोरङ सेमिफाइनलमा प्रवेश गरेको छ ।

 

स्थानीय कैदले प्राकृतिक रंगशालामा भएको खेलमा निर्धारित समयमा २-२ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटतर्फ धकेलिएको थियो । पेनाल्टी सुटआउटमा पनि ४-४ गोलको बराबरी हुँदा नतिजा सडन डेथमार्फत निकालिएको हो ।आयोजकको दुई पेनाल्टी रोकेका पथरी ११ का गोलरक्षक समीर क्षेत्री खेलको प्लेयर अफ दी म्याच बन्दै नगद ३ हजार ५ सयसहित ट्रफी पाउन सफल भए ।

 

वर्षौंअघि भुटानी शरणार्थी शिविरमा बस्दै आएकी लिम्बूनी ठूलीको स्मृतिमा च्यारिटी युथ क्लबले प्रतियोगिताको आयोजना गरेको हो । लिम्बूनी ठूलीको नामले परिचित आइतमाया सुब्बाको गतवर्ष पुनर्वासका क्रममा अमेरिका गएपछि निधन भएको थियो । उनका छोरा बाबी सुब्बा र उनका परिवारले स्मृति कपका लागि प्रायोजन गरेका हुन् ।

 

बाबी सुब्बा यतिबेला पुनर्वासका क्रममा अमेरिकामा रहँदै आएका छन् । दिवंगत आमालाई अर्जुनधारा खुदुनाबारीबासीमाझ जिवन्त राख्दै नेपाली फुटबलको विकासमा सानो सहयोग गरेको उनको भनाइ छ । बाबी आफैँ पनि फुटबल खेलाडी र प्रशिक्षकसमेत हुन् ।

 

भोलि (मंगलबार) सिएमसी दमकले जलथल एफसीसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको विजेताले नगद १ लाख ५५ हजार ५५५ तथा उपविजेताले ७७ हजार ७७७ रुपैयाँ पाउने आयोजक समितिका संयोजक सूर्य इम्बुङले बताए । प्रतियोगिता सम्पन्न गर्न १४ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकको रहेको छ।