ताप्लेजुङ । आयोजक तेल्लोक स्पोर्टिङ क्लब ताप्लेजुङलाई स्तब्ध बनाउँदै योङ ब्रदर्स क्लब इटहरी (सुनसरी) ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

 

आजदेखि भानुजन माविको खेलमैदानमा सुरु भएको तेश्रो ताप्लेजुङ गोल्डकपको उद्घाटन खेलमा सुनसरीले २-१ गोलअन्तरले आयोजकलाई पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

 

सुनसरीका लागि दुवै गोल दोस्रो हाफमा सम्भव भएको हो भने आयोजकले पहिलो हाफमै अग्रता बनाएको थियो । पहिलो हाफको २६औँ मिनेटमा आयोजकका सञ्जय श्रेष्ठले गोल गर्दै अग्रता दिलाए पनि दोस्रो हाफमा घरेलु समर्थक पनि स्तब्ध बने ।

 

यसैबीच, दोस्रो हाफको ७०औँ मिनेटमा इटहरीका निरज खड्काले बराबरी गोल गरेपछि खेल थप रोचक बन्यो। उनको हेडर क्रस बारमा लाग्दै गोल भएको थियो । त्यसपछि ७४औं मिनेटमा परिवर्तित खेलाडी युगन राईले निर्णायक गोल गर्दै सुनसरीलाई जित दिलाए।

 

सुनसरीका लागि कमब्याक गरेका निरज खड्का खेलको प्लेयर अफ दि म्याच घोषित भए । उनले नगद ७ हजार पाए । प्रतियोगिताको भोलि हुने खेलमा पाहुना टोली सहारा क्लब पोखराले रेड स्टार क्लब झापासँग प्रतिस्पर्धा गर्नेछ।

 

लाखे जात्रा सञ्चालन समितिले आयोजना गरेको प्रतियोगितामा विजेताले नगद ७ लाख २ हजार ८२ रुपैयाँ र ट्रफी पाउनेछन् भने उपविजेताले ३ लाख ५२ हजार ८२ रुपैयाँ र ट्रफी पाउने छन्। साथै, सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल पुरस्कार दिइने आयोजकले जनाएको छ।