सर्लाही । सर्लाहीको बागमतीमा जारी तेस्रो राजर्षि जनक कप फुटबल प्रतियोगितामा आज मोफसलको टोली झापा ११ र विदेशी टोली भुटानको पारो एफसी भिड्दैछन् । खेल स्थानीय सन्तोष स्मृती खेल मैदानमा दिउँसो ४ बजे सुरु हुनेछ ।

विदेशी खेलाडी फ्लोरेन्ट कोयरा, दिलेन लोक्ताम लगायतका केही अनुभवी खेलाडीबाहेक झापा अधिकाशं नव युवा खेलाडीका साथ मैदान उत्र्दैछ । उपाधिको दाबेदार समेत मानिएको पारो भुटानकै शसक्त टिम मानिन्छ ।

जारी प्रतियोगितामा पारोको यो पहिलो खेल हो । झापाले भने रुपन्देही ११ लाई पराजित गर्दै पारोसँगको भेट पक्का गरेको थियो । विजयी हुने टोली सेमिफाइनल प्रवेश गर्नेछ । उसले सेमीफाइनलमा आयोजक बागमती नगरपालिकाको टिमसँग खेल्नुपर्नेछ ।

यसअघि नै समूह ए बाट विजयी बन्दै थ्रीस्टार र एपीएफ क्लब सेमीफाइनलमा प्रवेश गरिसकेका छन् । प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाखसहित ट्रफी प्राप्त गर्नेछ । बागमती नगरपालिका र बागमती युवा क्लबले संयुक्त रुपमा अयोजना गरेको प्रतियोगिताको फाइनल खेल आगामी वैशाख ६ गते हुनेछ ।