झापा । झापाको बिर्तामोड २ स्थित चारपाने चोकमा एक महिलालाई बिजुलीको पोलमा बाँधेर मोसो दल्ने चार जना पक्राउ परेका छन् ।
शुक्रबार साँझ ६ः३० बजे स्थानीय २१ वर्षीया सविना राजवंशीलाई पुरानो रिसिबिको कारण बिजुलीको पोलमा हात बाँधेर चारजनाले मोसो दलेका थिए । पक्राउ पर्नेहरुमा कन्काई ८ का १८ वर्षीय समिर मुर्मु, सोही ठाउँ बस्ने २० वर्षीया सबिना मुर्मु, २५ वर्षीया स्वस्तिका मुर्मु र १९ वर्षीया पुजा बस्नेत रहेका छन् ।
महिलामाथि मोसो दलेको खबर स्थानीयले इलाका प्रहरी कार्यालय अनारमनीमा गरेपछि प्रहरी सहायक निरीक्षक नम्भुकुमार माझीको कमाण्डमा टोली खटिएर उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट कालो मोबिलको बट्टा र पम्प्लेटहरू जम्मा १६ वटा बरामद भएको जनाइएको छ ।
मोसो दल्नेहरुलाई इलाका प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान भइरहेको छ । सविना राजवंशीको बिर्ता सिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।