अर्जुनधारा । बालबालिकालाई नियमित प्रदान गरिने खोपहरुको सूचीमा अर्को एउटा खोप थप भएको छ । अब अभिभावकले वालबालिकालाई रोटा भाइरस बिरुद्वको खोप लगाउनु पर्ने भएको छ ।
उच्च संक्रमण हुने झाडा पखाला रोकथामको लागि रोटारिक्स नामको खोप लगाइने भएको अर्जुनधारा नगरपालिकामा आयोजित गोष्ठीमा बताइएको छ । रोटा भाइरस संक्रमणका कारण हुने झाडा पखालाले बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने गोष्ठीका सहजकर्ता दुर्गा भट्टराईले बताए ।
रोटा भाइरसको संक्रमण जुनसुकै उमेरका मानिसमा पनि हुने उनले बताए । भट्टराईका अनुसार संक्रमितमध्ये ८५ प्रतिशत बालबालिकाहरु रहने गरेका छन् । झाडापखालाको बिरामी मध्ये पनि ३० प्रतिशत रोटा भाईरसबाट प्रभावित हुने गरेको तथ्याङक रहेको छ ।
बिश्व स्वास्थ्य संगठनका अनुसार संक्रमित ब्यक्तिको दिसाबाट दुषित भएको खाना र पानीको माध्यमबाट यो रोग सर्छ । यो रोगको संक्रमणबाट बचाउनको लागि रोटारिक्स खोप अनिवार्य लगाउनु पर्ने बिश्व स्वास्थ्य संगठनको सुझाब छ ।
हालसम्म अभिभावकले बच्चालाई बिसिजी, एफआईपिभी, पिसीभी, डिपिटी, हेपाटाइटिस बि, पोलियो, दादुरा रुबेला बिरुद्वको खोप र जापानिज इन्सेफलाइटिस बिरुद्वको खोप दिदै आएका थिए । अब रोटा भाईरस बिरुद्धको खोप पनि खोपको सूचीमा थप भएको हो ।
जन्मेको ६ र १० महिनामा दुई पटक यो खोप नजिकैको स्वास्थ्य संस्थामा लगेर लगाउन सेवाग्राहीमा अनुरोध गरिएको छ ।
रोटा भाईरसको संक्रमणबाट बच्नका लागि झाडा पखाला लागेको बेला अपनाइने सावधानी कायम राख्नुपर्ने नगर स्वास्थ्य प्रमुख मुकुन्द बस्नेतले बताए । उनले आगामी आर्थिक वर्षको साउनदेखि यो खोप शुरु गरिने जानकारी दिए ।
अर्जुनधारा नगरपालिकाकी उपप्रमुख कमला आचार्य खतिवडाको अध्यक्षतामा भएको अभिमुखीकरण गोष्ठीमा सिनियर अहेव डम्बर मिश्रले नियमित खोप मातहतमै यो खोप पनि सञ्चालन हुने बताए ।
गोष्ठीमा स्वास्थ्यकर्मीसँगै नगरका प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेल, वडाध्यक्षहरु र सञ्चारकर्मीको उपस्थिति थियो ।