शंकर विश्वासी,
दक्षिण कोरिया । दक्षिण कोरियाको राजधानी सौलबाट करिब २ सय किलोमिटर टाढा कुमि शहर नजिक बैगानस्थित एक फर्निचर कम्पनीमा कार्यरत नेपालीको निधन भएको छ ।

करिब ३ बर्षअघि रोजगार प्रणाली इपिएसमार्फत रोजगारीका लागि कोरिया आएका शरन योङहाङ ‘कुल’को निधन भएको हो । पूर्वी नेपालको पाँचथरमा जन्म भई मोरङ जिल्लाको कानेपोखरी गाउँपालिका बसोबास गर्दै आएका योङ्हाङ बेलुकासम्म सकुशलै रहेको र बिहान अचानक आफू कार्यरत कम्पनीको कोठामा झुन्डिएको अवस्थामा भेटिएका थिए ।

मृतक योङहाङ झुन्डिएको अवस्थामा भेटिएकाले प्रारम्भिक अनुसन्धानमा आत्महत्या देखिए पनि मृत्यूको कारण भने पोस्टमार्टमपछि मात्रै यकिन हुने बताइएको छ । मृतकको शवलाई हाल स्थानीय एक अस्पतालमा पोस्टमार्टमका लागि राखिएको र सम्पूर्ण कानुनी तथा अन्य प्रकृया मृतक कार्यरत कम्पनीको साहुले गरिरहेको किरात याक्थुङ चुम्लुङ कोरियाका अध्यक्ष मिराक लिम्बुले जनाए ।

वैदेशिक रोजगारीका लागी नेपाली यूवाहरुको आकर्षक गन्तव्यको रुपमा रहेको दक्षिण कोरियामा पछिल्लो पटक आत्महत्या लगायत विभिन्न कारणले मृत्यु हुनेको संङ्ख्या बढिरहनु अत्यन्तै चिन्ताको विषय बन्दै गएको छ । केही समयअघि मात्रै इलाम गजुरमुखीका याम लिम्बु र धनकुटाका उत्तरकुमार राईको निधन भएको थियो ।