काठमाडौँ । नेपाल आइडल सिजन-२ का विजेता रवि ओड र चर्चित गायिका मेलिना राईको आवाजमा सजिएको गीत ‘गालैमा डिम्पल’ सार्वजनिक भएको छ । सोमबार दिउँसो ‘ओएसआर डिजिटल’ युट्युब च्यानलमार्फत् यस गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

रोवर्ड सिप्तुङ्खा राईको शब्द रचना रहेको गीतमा सुनिल राईले संगीत संयोजन गरेका छन् । काठमाडौँस्थित ए–वन स्टुडियोमा राजेश श्रेष्ठले गीत रेकर्ड गरेका हुन् । यस गीतको म्युजिक भिडियोको निर्देशन भने निकेश खड्काले गरेका छन् । गीतमा चर्चित नायकद्वय पुष्प खड्का र आकाश श्रेष्ठलाई नव मोडल डिम्पल योङहाङले साथ दिएकी छिन् । यस म्युजिक भिडियोका कोरियोग्राफर शुभम् भुजेल हुन् ।

निर्मला सुहाङ निर्माता रहेको यस म्यजिक भिडियोका लागि क्यामेरामा बुद्ध थापाले साथ दिएका छन् । भिडियोको सम्पादन विकास धमलाले गरेका हुन् । म्युजिक भिडियोको छायांकन काठमाडौँस्थित पार्क भिलेज रिसोर्टमा गरिएको हो ।

छायांकनपछि नायक पुष्प खड्काले भने, ‘सुटिङ एकदमै रमाइलो भयो, गीत र लोकेशन दुबै राम्रो भएकाले पनि होला ।’ आफूहरुले म्युजिक भिडियोलाई राम्रो बनाउने प्रयास गरेको उनले बताए ।

आकाश र पुष्प अहिलेका चर्चित कलाकार भए पनि उनीहरुले सँगै काम गरेको भने यो नै पहिलो भिडियो हो । ‘हाम्रो भेट चाहिँ भएको थियो, तर यसरी सँगै अहिलेसम्म काम गरेकै थिएनौँ,’ आकाशले भने । आकाश र पुष्पसँग काम गर्न पाउँदा आफू असाध्यै खुशी छु भएको डिम्पलले बताइन् ।