अमित खम्बू,
झापा । स्थायी तटबन्धनको लागि सम्बन्धित निकाय गम्भीर नबन्दा झापा बुद्धशान्ति–२ स्थित बिन्दुली बाँध क्षेत्र नजिकका बासिन्दाहरु प्रत्येक वर्षाको समय जोखिममा हुने गर्छन् ।

आकाशमा कालो बादल मडारिन थालेको दृश्यसँगै अविरल वर्षापछी स्थानीय बिरीङ नदीमा आउने बाढीले बाँध भत्काई पानी मानव वस्तीसँगै खेतीयोग्य जमिनमा पस्ने हो कि भन्ने चिन्ताले उनीहरुलाई सताउने गरेको छ ।

विस २०२१, २०२८, २०३१ र २०६० सालमा गरि हालसम्म चार पटक बिरिङ नदीले बाँध भत्काई गरेको क्षतिबारे स्मरण गर्दै स्थानीय हेमकुमार निरौला भन्छन्– वर्षाको समयमा अचानक नदीमा आउने बाढीले बाँध भत्काई जनधनको क्षति पो हुने हो कि भन्ने पीडासँगै बस्नुपर्ने हुन्छ ।

नदीले बाँध भत्काएको खण्डमा बुद्धशान्ति–२ नम्बर वडासँगै छिमेकी अर्जुनधारा नगरपालिकाका ८, ७, ९, ६ र ५ नम्बर वडा र बिर्तामोड नगरपालिकाका केही वडाका वासिन्दा प्रभावित हुनुका साथै खेतीयोग्य जमिन बगरमा परिणत हुने जोखिम रहेको उनले बताए ।

“यस समस्याको दिर्घकालिन समाधान भनेको नै तिनवटै पालिकाले समन्वय गरि संयुक्तरुपमा स्थायी तटबन्धन गर्नु बाहेक अन्य विकल्प छैन”, उनले दाबी गरे ।

यता अर्का स्थानीय देवेन्द्र भण्डारी बाँध क्षेत्रको तीन सय मिटर पूर्व र दक्षिणमा जनताको तटबन्धन कार्यक्रममार्फत् तटबन्धनको कार्य भएपनि बाढीबाट हुने मुख्य जोखिम रहेको बिन्धुली बाँध क्षेत्रमा भने हालसम्म तटबन्धन हुन नसक्नु दुःखद भएको बताउँछन् । निर्वाचनको समयमा उम्मेदवारको राजनीतिक घोषणा पत्रमा उल्लेख हुने बिन्धुली बाँध तटबन्धन गर्ने कार्य निर्वाचन सम्पन्न भएपछि भने हराउने गरेको उनले आरोप लगाए ।

चौथोपटक बाँध भत्काएको समयमा लगाइएको पूरानो जालीको भरमा रहेको त्यस क्षेत्रमा जलाधारकोतर्फबाट स्थायी तटबन्धनको लागि आफूहरुले पटक–पटक पहल गर्दा पनि सम्बन्धित निकायले कार्यान्वयनमा भनेको चासो नदिएको अर्का स्थानीय राजकुमार श्रेष्ठ बताए ।

स्थायी तटबन्धनको विषयमा बुद्धशान्ति गाँउपालिकाका अध्यक्ष रमेशकुमार भूजेलसँग सम्पर्क गर्दा उनले त्यस क्षेत्रमा स्थायी तटबन्धनको लागि १०–१५ करोड बजेट आवश्यक पर्ने हुँदा गाँउपालिकाको पहुँच नपुग्ने भएकोले जनताको तटबन्धन कार्यक्रममा समावेश गरेको बताए । त्यसको लागि सो कार्यालयले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्ने कार्य सम्पन्न गरेको उनले बताए ।

चालु आर्थिक वर्ष ०७७÷०७८मा दुई पालिका बुद्धशान्ति र अर्जुनधाराको लागि दुई करोड रुपैयाँ बजेट विनियोजन भएको हुँदा सोही बजेटबाट त्यस क्षेत्रमा स्थायी तटबन्धनको लागि कार्य सुरु हुने आफूले जानकारी पाएको जनताको तटबन्धन कार्यालयलाई उद्धरीत गर्दै अध्यक्ष भूजेलले जानकारी दिए ।

बाढीले बिन्दुली बाँध क्षेत्रको जाली बगायोः
यसैबीच मंगलबार विहानको वर्षासँगै नदीमा आएको बाढीले बिन्धुली बाँध क्षेत्रमा लगाइएको अनुमानित ६० मिटर पूरानो जाली बगाएको स्थानीय निरौलाले बताए ।

बाढीले जाली बगाएको बाँध क्षेत्रमा सोही दिन पूर्व सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकी, अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार राना, जनताको तटबन्धन कार्यालयका इन्जिनियरलगायतले अनुगमन गरि तत्काल रोकथामको गर्न नदीको दुई वटा स्काभेटरले परिचालन गरिएको गाँउपालिकका अध्यक्ष भूजेलले बताए ।

अध्यक्ष भूजेलका अनुसार स्काभेटरले नदीको पानीलाई डाइभर्सन गरेपछि जाली बगाएको क्षेत्रमा अस्थाई तटबन्धनको लागि जनताको तटबन्धन कार्यालयबाट बुधबारसम्म एक सय थान र अर्जुनधारा नगरपालिकाबाट २० थान जाली उपलब्ध हुने बताइएको छ ।

 

हेर्नुहाेस्, भिडियाे…