गएको पुस १३ गते रिपोर्टिङका क्रममा आक्रोसित मुद्रामा भेटिएको ध्वाँसे चितुवा ।

रमेश समदर्शी,
झापा । दुर्लभ वन्यजन्तुको सूचीमा रहेको ध्वाँसे चितुवा झापा जिल्लाको उत्तरी क्षेत्रमा फेला परेको छ । अंग्रेजी नाम क्लाउडेड लियोपार्ड भनिने संरक्षित ध्वाँसे चितुवा झापाको बुद्धशान्ति गाउँपालिका १ स्थित एक बस्तीमा फेला परेको हो ।

जिल्ला वन डिभिजन कार्यालय झापाका अनुसार स्थानीय गाउँलेले पालेका सुंगुरको सिकार गर्न आएको बेला उक्त ध्वाँसेलाई गाउँलेले कुटपिट गरी नियन्त्रणमा लिएका थिए । गाउँलेको आक्रमणबाट घाइते बनेको उक्त ध्वाँसे चितुवा अहिले वन कार्यालयको रोहवरमा झापाकै जामुनखाडी वन उपभोक्ता समूहको संरक्षणमा राखिएको वन कार्यालयका जमदार दिलकुमार श्रेष्ठले जानकारी दिए ।

झापामा फेला परेको ध्वाँसे चितुवालाई गाउँलेले नियन्त्रणमा लिएर कुटपिट गरी बाँसमा बाँधेर राखिएको तस्वीर सामाजिक सञ्जालमा पोस्ट भएपछि जानकारी बाहिरिएको थियो । बोटानिकल कमल मादेनले यसको विषयमा थप जानकारी लिन खोजे पनि सामाजिक सञ्जालमा रहेको उक्त तस्वीर फेरि हटाइएको थियो ।

टाउको, मुख र आँखामा चोट लागेको उक्त ध्वाँसे चितुवाको उपचार भइरहेको समूहका अध्यक्ष ख्याम सिटौलाले बताए । यस समूहले करिब २ वर्षअघि वन्यजन्तु संरक्षण तथा उद्दार केन्द्रको रुपमा मान्यता पाएको छ । वन कार्यालयले समूहलाई हस्तान्तरण गरेकै समयमा संयोगवश वन्यजन्तु अस्पताल चितवनका डाक्टर अमिर सडौला र एनटीएनसीका डाक्टर विरेन्द्र गौतमले घाइते ध्वाँसे चितुवाको उपचार गर्न पाएका थिए ।

पहिलाेपल्ट सामाजिक सञ्जालमा सार्वजनिक भएकाे ध्वाँसे चितुवाकाे तस्वीर ।

बेहोश अवस्थामा रहेको उक्त चितुवाको उपचार गरिएपछि अहिले आहारा खान सक्ने भएको समूहकी सचिव मनिता राईले बताइन् । करिब १८ केजी तौल, चार फिट लम्बाइ र दुई फिट उचाइ रहेको उक्त ध्वाँसे चितुवा गाउँलेबाट नियन्त्रणमा लिई वन समूहलाई शनिबार (११ पुस) हस्तान्तरण गरिएको थियो । यसको चोरी सिकारी गरेको खण्डमा ५० हजारदेखि ५ लाखसम्म र १ वर्षदेखि १० वर्षसम्म कैद सजाय तोकिएको छ ।

१४ सय मिटर उचाइदेखि ३५ सयको उचाइमा मात्र पाइने भनिएको ध्वाँसे चितुवा झापाको समुन्द्र सतहदेखि करिब ५ सय मिटरकै चुरे क्षेत्रमा फेला परेको हो । यो सतहमा फेला परेको ध्वाँसे चितुवा सम्भवतः पहिलो भएको बताइएको छ ।

यसअघि तराईका घना जंगलमा पनि ध्वाँसे चितुवा पाइन्छ भन्ने जानकारी भए पनि तस्वीर उपलब्ध भइनसकेको अवस्थामा झापामै प्रत्यक्ष गाउँलेले फेला पार्नु उपलब्धिमूलक भएको अध्यता एवं संरक्षणकर्मी यादव घिमिरेले बताए । उनका अनुसार सुनसरी, ताप्लेजुङ, चितवन र जनकपुरमा पनि छन् भन्ने जानकारी यसअघि आएको भए पनि अहिलेसम्म ध्वाँसेको तस्वीर उपलब्ध भएको छैन ।

नेपालमा २६ वटा संरक्षित वन्यजन्तुको सूचीमा रहेको ध्वाँसे झापामा फेला परेको पहिलोपल्ट भएको उनको भनाइ छ । ‘यसअघि कुनै रेकर्ड छैन’, उनले भने । तर, मानव बस्तीमा छिर्ने यसको बानी नभएको उनको भनाइ छ । कुनै एउटा ध्वाँसे चितुवालाई फेला पार्नु संरक्षणकर्मीका लागि उत्साहजनक भएको बताउँदै उनले अहिलेसम्म प्रत्यक्षरुपमा भेटिएको २५ वटा पनि रेकर्ड कायम नभएको सुनाए । ‘नयाँ रेकर्डले संरक्षणकर्मीलाई उत्साह प्रदान गरेको छ’, उनले भने ।

एक वर्षदेखि झापामै संरक्षण
यसअघि पनि इलाम र झापाको सीमामा रहेको चुरे क्षेत्रमा यस प्रजातिको वन्यजन्तु फेला पारिएको थियो । सामुदायिक वन महासंघ झापाका पूर्वअध्यक्ष छत्र पौडेलका अनुसार झापाको सिमावर्ती क्षेत्र इलामको माइ नगरपालिकाको चेप्टी भन्ने स्थानबाट ध्वाँसे चितुवाको एउटा बच्चा फेला पारी झापाको हलुवागढ सामुदायिक वन उपभोक्ता समूहलाई हस्तान्तरण गरिएको थियो । तर, ध्वाँसे चितुवाकै बच्चा नै हो भनेर पहिचान गरिएको थिएन ।

अर्जुनधाराकाे हलुवागढ सामुदायिक वन समूहमा पालिएकाे ध्वाँसे चितुवाकाे बच्चा । तस्वीरः रमेश समदर्शी ।

करिब १ वर्षअघि दूधे बच्चाको रुपमा ल्याइएको उक्त चितुवालाई समूहकै निगरानीमा संरक्षण गरिएको अर्जुनधारा १ मा रहेको समूहका अध्यक्ष चक्र तामाङले बताए । उनका अनुसार सुरुमा दूध ख्वाएर बचाइएको उक्त चितुवाले अहिले आहाराका रुपमा मासु खान थालिसकेको छ । यसको पहिचान भने एक महिनाअघि नवलपरासीबाट आएका बोटानिकल लीलानाथ शर्माले ठम्याइदिएका हुन् ।

दक्षिणी इलामको शिवपोखरी सामुदायिक वन उपभोक्ता समूहले फेला पारेको यस स्थान समुन्द्र सतहदेखि करिब २ सय मिटरको उचाइ रहेको पूर्वअध्यक्ष पौडेल बताउँछन् । उनका अनुसार यस क्षेत्रमा ध्वाँसे चितुवाको संख्या अझ हुन सक्ने अनुमान छ । बच्चा अवस्थामा फेला पारिएकाले पनि यसको माउ त्यस क्षेत्रमा हुनसक्ने उनले अनुमान गरेका हुन् ।

उनका अनुसार वासस्थान परिवर्तन गरिरहने भएकाले यसअघि झापाकै जुकेखाडी वन समूहको क्षेत्रमा पनि देखा परेको दाबी गरिएको छ । त्यस्तै, कुनै समय यस क्षेत्रमा पाटे बाघ पनि देखिएको स्थानीयको दाबी रहेको उनको भनाइ छ ।

सानो बच्चा नै फेला पारिएपछि संरक्षणकर्मी घिमिरेले नेपालकै ध्वाँसे चितुवा हो भनेर दाबी गर्न मिल्ने बताएका छन् । पछिल्लो पटक फेला पारिएको वयस्क पोथी ध्वाँसे चितुवालाई उपचारपछि छाड्न सके यसको संख्या बढ्नसक्ने उनले अनुमान गरे । स्थानीय जंगलमा बच्चा र वयस्क ध्वाँसे चितुवा भेटिएकाले पनि यसको परिवार नजिकै हुनसक्ने भन्दै उनले बाँकी दिनमा यसको जन्मदर बृद्धिका लागि छाड्नुपर्ने सुझाउँछन् ।

नेपालमा ध्वाँसेको अवस्था
बिरालो वर्गमा पर्ने ध्वाँसे चितुवा अन्य चितुवाभन्दा निकै लजालु हुन्छ । तर, पछिल्लोपटक फेला पारिएको चितुवालाई कुटपिट गरिएकाले निकै आक्रोसित मुद्रामा रिपोर्टिङका क्रममा भेटिएको थियो । (भिडियो हेर्नुहोला) । यसले नजिकका मान्छेलाई आक्रमण गर्न थालेको थियो । हलुवागढमा रहेको सानो ध्वाँसे चितुवा भने मानिसको आवतजावत बढ्न साथ लुक्नका लागि बनाइएको खोरभित्र पसिहाल्ने बानी रहेको छ ।

‘घना जङ्गलमा एक्लै बस्न मन पराउने र राति मात्र बाहिर निस्कने भएकाले यसलाई हत्पत्ति मानिसले देख्दैनन्’, अध्यता एवं संरक्षणकर्मी घिमिरेले भने, ‘बाघ, चितुवा बारम्बार मान्छेका आँखामा पर्छ तर यसलाई देखिहाल्यो भने पनि मान्छेले चिन्दैनन् ।’ उनका अनुसार ध्वाँसोजस्तो पाटा हुने भएकाले यसलाई ध्वाँसे चितुवा भनिएको हो । यो बाघ र चितुवाजस्तो ठूलो र ढाडे बिरालो जत्तिको सानो आकारको नभई मध्यम आकारको हुने गर्छ ।

नेपालमा पाइने १२ बिरालो प्रजातिमध्ये रूख चढ्न खप्पिस ध्वाँसे हुन्छ । बाँदरजस्तै एक रूखबाट अर्को रूखमा हामफाल्न र कुद्न खप्पिस भएकै कारण यसले बढीजसो बाँदरकै सिकार गर्ने गर्छ । त्यस्तै लोखर्के र मृग पनि यसको मन पर्ने आहारा हो ।

तल्लो अन्नपूर्ण क्षेत्रको १४०० देखि ३५०० मिटर उचाइमा पाइने ३० प्रजातिमध्ये यो विश्वव्यापी रूपमा संवेदनशील सूचीमा छ । आईयूसीएनले नेपालभित्र भने यसलाई सङ्कटापन्नको सूचीमा राखेको छ । सन् २०१० मा भएको एक कार्यशालाअनुसार नेपालमा करिब एक सयको हाराहारीमा ध्वाँसे चितुवा रहेको अनुमान गरिएको थियो ।

१२ देखि २३ किलोग्रामसम्म तौल हुने यसको लम्बाइ ८४ सेन्टिमिटरसम्म हुन्छ । यसले एक पटकमा ५ वटासम्म बच्चा जन्माउँछ । विश्वमा करिब १० हजार ध्वाँसे चितुवा रहेको अनुमान छ । ध्वाँसे चितुवाबारे अनुसन्धान गरेका घिमिरेका अनुसार नेपालमा अहिले करिब २ सयदेखि ३ सयको हाराहारीमा ध्वाँसे चितुवा छन् ।

यसअघि लाङटाङ राष्ट्रिय निकुञ्जको करिब ३५ सय मिटर उचाइमा ध्वाँसे चितुवा रहेको पत्ता लागेको थियो । बेलायतको अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ता ओगन इम्रे क्यान नेतृत्वको टोलीले समुद्री सतहबाट ३४९८ मिटर उचाइको लाङटाङको हिमाली क्षेत्रमा ध्वाँसे चितुवा रहेको पत्ता लगाएको अध्यता घिमिरेले जानकारी दिए ।

उनका अनुसार क्यानको टोलीले उक्त वन्यजन्तु पत्ता लगाउन सन् २०१४ को डिसेम्बरदेखि २०१५ को फेब्रुअरीसम्म निकुञ्जको राम्चेदेखि ठाडेपाटीसम्म ८१ वटा स्वचालित क्यामेरा जडान गरेको थियो ।

‘अनुसन्धानका लागि हामीले १८२३ मिटरदेखि ३८२४ मिटरसम्मको उचाइमा स्वचालित क्यामेरा राखेका थियौं’, क्यानले उल्लेख गरेका छन्, ‘त्यसमध्ये सबभन्दा माथि ३४९८ मिटरमा ध्वाँसे चितुवा रेकर्ड भएको पायौं ।’ अनुसन्धानका लागि १०७ दिनसम्म क्यामेरा राखिँदा क्यामेराले फरक–फरक उचाइमा २१ वटा ध्वाँसे चितुवाको तस्बिर कैद गरेको क्यानको तथ्यांक घिमिरेले सुनाए ।

अंग्रेजीमा ‘क्लाउडेड लियोपार्ड’ भनिने रातको समयमा बढी सक्रिय हुने यो वन्यजन्तु यसअघि २३ सय मिटर उचाइसम्म मात्र भेटिएको थियो । ‘करिब ३५ सय मिटर उचाइको हिमाली क्षेत्र लाङटाङमा ध्वाँसे चितुवा रहेको पत्ता लगाउन सफल भयौं,’ अनुसन्धानकर्ता क्यानले गतवर्ष ट्वीटरमा लेखेका थिए, ‘यो विश्वकै लागि नयाँ हो ।’