जुम्ला (बीबीसी) । कालीमार्सी चामलको माग बढ्दै गएपछि जुम्लाका किसानहरूले घरमै खरिदकर्ता पाउन थालेका छन्। व्यापारीहरू कालीमार्सी धान तथा चामल किन्न घरदैलोमा आइपुग्ने गरेको तातोपानी गाउँपालिका वडा नं ४ नियापानीका किसान जयबहादुर रोकायाले बताए।

उनले भने, ‘प्रतिकेजी धान ७० रुपैयाँ, पाथीमा १५० रुपैयाँ र चामल किलोमा १५० रुपैयाँमा घरबाटै विक्री हुने गरेको छ।’ आफूलाई बढी भएको धान चामल बेचेरै जयबहादुरजस्ता कैयौँ किसानले आफ्नो खर्च जुटाउने गरेका छन्।

कालीमार्सी धानको बजार मूल्य सरकारले निर्धारण गरिदिए क्रेता र विक्रेता दुवैलाई सहज हुने किसानहरू बताउँछन्। निश्चित मूल्य नभएकाले ग्राहकले पाँच-दश रुपैयाँ कमबेसीमा विक्री गर्ने गरेका छन्।

जुम्ला बजारमा पसल गर्ने लक्ष्मी श्रेष्ठ चामल तथा धान खरिद गर्न आफैँ गाउँगाउँ पुग्ने गरेको बताउँछिन्। बजारमा कालीमार्सी धान र चामलको माग पूर्ति गर्न आफूहरूलाई मुस्किल पर्दै गएको उनले बताइन्।

किसानबाट प्रतिकेजी १३५ रुपैयाँमा खरिद गरेर १८० रुपैयाँ प्रतिकेजीमा जुम्लामा र काठमाण्डूमा ३ सय देखि ५ सय रुपैयाँ प्रतिकेजीसम्म विक्री गर्दै आएको उनले बताइन्। कालीमार्सी चामलको माग बढ्न थालेपछि सहकारीमार्फत् किसानको घरदैलोमा पुगेर चामल खरिद गर्न थालेको चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाले जनाएको छ।

एक नगरपालिका र ७ वटा गाउँपालिकामा सङ्कलन केन्द्र स्थापना गरिएको चन्दननाथ सहकारी संस्थाका सदस्य सचिव समेत रहेका जुम्लाका ऋषिराम पाण्डेले बताए। उनले भने, ‘पछिल्लो समयमा लोप हुँदै गएका जुम्लाका बालीहरू चिनो, कागुनो, तिलखुडो, गहत, कालीमार्सी, तीते फापर, मीठे फापर, भाडुले फापर, मैमास, सिमी, गुराँस लगायतका बालीहरू सङ्कलन गरेर राख्न र बजारीकरण गर्न थालिएको छ।’

‘एक वर्षमा २० लाख रुपैयाँको हाराहारीमा कालीमार्सी धानको चामल खरिद गर्ने गरेका छौँ’, उनले भने । सुर्खेत, नेपालगञ्ज, बुटवल, हेटौँडा, विराटनगर, इटहरी, धरान, धनकुटा, काठमाण्डू लगायतका बजारमा समेत कालीमार्सी चामल र अन्य उत्पादन पठाउने गरेको पाण्डेले बताए।

सिंजा क्षेत्रको नगराकोट, लार्ज, लुड्कु, वड्की, जाँच र पानसय क्षेत्रको कुडारी, तातोपानी, लाम्रा, हाँकु, गिडीखोला र बजार क्षेत्रमा धान धेरै फल्ने भएकाले यस क्षेत्रबाट बढी खरिद हुने गरेको बताइएको छ। (सम्पादित अंश)