मेचीनगर । विभिन्न हतियारसहित नेपाल प्रवेश गरेका एकजना भारतीय नागरिकलाई नेपाल प्रहरीले काँकरभिट्टाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत सिलिगुडीका युवा छन् ।

 

प्रहरीका अनुसार शुक्रबार साँझ ७ः२० बजे भारत दुर्गानगर सिलिगुडी बस्ने ३५ वर्षीय जयप्रकाश कुमार पाठकलाई एयर पेस्तोल, म्याग्जिन र खुकुरीसहित काँकरभिट्टा बसपार्कबाट पक्राउ गरिएको हो ।

 

काँकरभिट्टा प्रहरीको टोलीले गोप्य सूचनाको आधारमा भारतीय नागरिक पाठकलाई डब्लुबी ७० जी ३२३२ नम्बरको टियुभी ३०० मोडलको कारसहित फेला पारेको थियो ।

 

गाडीसहित नियन्त्रणमा लिई चेकजाँच गर्दा उक्त गाडीको चालक बस्ने सिटमुनि लुकाई राखेको अवस्थामा STAR RX (IN XAMPL CO२ ००१९०७ ४.५ MM) MADE IN INDIA लेखिएको कालो रंगको म्याग्जिनसहितको एयर पेस्तोल फेला परेको थियो । म्याग्जिनमा एयर वुलेटजस्तो देखिने ५ राउन्ड , चालक बस्ने सिटदेखि बायाँतर्फको सिटमुनि दुवै साइडमा १–१ थान दावसहितको २ थान खुकुरी पनि फेला परेको थियो ।

 

त्यस्तै, पाठकको शरीरबाट रेडमी कम्पनीको स्क्रिनटच मोवाइल १ थान, सामसुङ कम्पनीको मोवाइल १ थान, उनको परिचय खुल्ने कागजात र गाडीको कागजपत्र फेला परेको छ । अवैध हतियारसहित पाठकलाई नियन्त्रणमा लिई इप्रका काँकरभिट्टामा राखिएको छ ।