विराटनगर । मोरङको लेटाङ नगरपालिका-५ का ५० वर्षीय कुलबहादुर लिम्बूले वैदेशिक रोजगारीका लागि इजरायल पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको खुलेको छ । सिन्धुपाल्चोकका ज्ञानबहादुर तामाङसँगको मिलेमतोमा आफन्त र छिमेकीसँग १९ लाख ८० हजार रुपैयाँ ठगी गरेको खुलासा भएको हो । पीडितहरुले भने लिम्बूले आफूहरुलाई नै धम्की दिने गरेको गुनासो गरेका छन् ।

श्रम तथा रोजगार कार्यालय विराटनगरका अनुसार कुलबहादुरले युवा, युवती गरेर १४ जनासँग प्रति व्यक्ति १ लाखदेखि २ लाख ८० हजार रुपैयाँसम्म ठगी गरेको पुष्टि भएको छ । ठगीमा पर्नेमा उनका भतिजा, भान्जादेखि छिमेकीसम्म छन् । सबैजना लेटाङकै हुन् । ठगिनेमा लेटाङ-३ का हर्कबहादुर लिम्बू, लेटाङ-५ का खड्गबहादुर सुब्बा, रामबहादुर मगर, गोपाल चेम्जोङ, सजेन्द्र बोहरा, दुर्गा बोहरा, कृष्णबहादुर मगर, प्रदीप लिम्बू, जीतबहादुर राई, लेटाङ-६ का गंगाराम थापा, लेटाङ-८ की सपना राई, लेटाङ-९ का रुद्र लिम्बू, धनबहादुर लिम्बू र सुमन लिम्बू छन् ।

नातामा हर्क बहादुर, खड्गबहादुर र प्रदीप भतिजा एवं रुद्रबहादुर भान्जा हुन् । कुलबहादुरले २०७५ साल असार मसान्तसम्ममा सबै जनालाई पर्यटक भीसामा इजरायल पठाइसक्ने र पठाउन नसके तत्कालै पैसा फिर्ता दिने भनेर कागज पनि गरेका छन् ।

पुरुष तथा महिलालाई जान सहज हुने विमानस्थल प्रयोग गरेर इजरायल पुगेपछि श्रम गर्न पाउने वर्क परमिट भीसाको व्यवस्था मिलाइदिने कागजमा उल्लेख छ । इजरायल पुगेपछि कुलबहादुरलाई प्रति व्यक्ति ८ लाख रुपैयाँ बुझाउनु पर्ने भनेर गरिएको कागजमा पीडित युवा, युवती तथा कुलबहादुुरको हस्ताक्षर र औंठा छाप छ । सबै कागज अन्नपूर्णसँग सुरक्षित छन् ।

काठमाडौंमा बस्दैआएका कुलबहादुरको टोखा नगरपालिका-८ गौरी गाउँमा गाई पालन तथा सुब्बा अर्गानिक तरकारी फार्म रहेको पनि बुझिएको छ । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख एवं बरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलका अनुसार अर्गानिक तरकारी र दुध उत्पादन गर्ने व्यक्तिको रुपमा चिनिने र भित्रभित्रै प्रतिबन्धित मुलुक पठाइदिन्छु भनेर रकम असुलेर ठगी गर्ने गरेको पाइएको छ । साथै ३ वर्षदेखि पैसा लिएर फिर्ता नगरेको पनि भेटिएको सञ्जेलले बताए ।

इजरायल पनि नपठाएको र रकम फिर्ता पनि नगरेको भन्दै पीडितहरुले पैसा फिर्ता पाउनुपर्ने र दोषीमाथि कारवाही हुनुपर्ने माग राखेर श्रम कार्यालयमा उजुरी दिएका थिए । उजुरीकै आधारमा श्रम कार्यालयले पक्राउ पुर्जी जारी गरेपछि महानगरीय प्रहरी परिसर टेकुले कुलबहादुरलाई काठमाडौंबाट पक्राउ गरेर विराटनगर ल्याएको अन्नपूर्ण पोष्टमा खबर छ ।