फुङलिङ । फागुराम थारूको निर्णायक गोलसँगै सिरहाको सल्हेश युवा क्लबले दोस्रोपटक ताप्लेजुङ गोल्डकपको उपाधि रक्षा गरेको छ ।

 

स्थानीय भानुजन माविको मैदानमा भएको चौथो संस्करणको फाइनल खेलमा साविक विजेता सल्हेशले पाँचथरको फिदिम स्पोर्टिङ क्लबलाई १-० गोलअन्तरले पराजित गर्दै इतिहास बनाएको हो ।

 

झरीले हिलाम्मे भएको मैदानमा खेलको ६९औँ मिनेटमा फागुराम थारुले गोल गर्दै अग्रता दिलाएका थिए । उनको गोल नै निर्णायक बन्दा सिरहाले उपाधिसँगै नगद ७ लाख २ हजार ८३ रुपैयाँ पाएको छ ।

 

पहिलोपटक फाइनल पुगेको फिदिमले उपविजेता बन्दै नगद ३ लाख ५२ हजार ८३ रुपैयाँमा चित्त बुझाएको छ । गोल्डकपको सर्वोत्कृष्ट खेलाडी फिदिमका अनुकेश शेर्मा (कान्छा) भए । उनले एक थान मोटरसाइकल पुरस्कार पाए ।

 

फाइनल खेलको प्लेयर अफ दी म्याच सिरहाका सनिष श्रेष्ठ भए । उनले ७ हजार मूल्यबराबरको अलैँची पाए । उदीयमान खेलाडी ताप्लेजुङ ११ का शिशिर राई भए भने तीन खेलमा तीन गोल गरेका फागुराम थारु सर्वाधिक गोलकर्ता बने ।

 

यसैगरी, उत्कृष्ट गोलरक्षक सिरहाका दिप कार्की, उत्कृष्ट रक्षक सिरहाकै अभिषेक लिम्बू, मिडफिल्डर सिरहाकै अभी लामा बन्दा फिदिमका हिटेन सुहाङ उत्कृष्ट फरवार्ड घोषित भए । उत्कृष्ट प्रशिक्षक सिरहाकै राजीव यादव भए । उनीहरुले जनही १५ हजारसहित ट्रफी पाए ।

 

लाखेजात्रा सञ्चालन समितिले आयोजना गरेको गोल्डकपका विजेता तथा उपविजेताहरुलाई संघीय सांसद क्षितिज थेवे, कोशी प्रदेशका पूर्वमन्त्री खगेनसिंह हाङगाम, समितिका अध्यक्ष सागर मादेनलगायतले पुरस्कार वितरण गरेका थिए ।