झापा । पछिल्लो समयमा जिल्लाको विभिन्न स्थानबाट मोटरसाइकल चोरी हुने घटना ह्वात्तै बढेको छ। विशेष गरी जिल्लाको पूर्व-पश्चिम राजमार्गअन्तर्गत विर्तामोड, मेचीनगर, शिवसताक्षी र दमक बजार क्षेत्रबाट बढी मोटरसाइकल चोरी हुने घटनाका बारेमा उजुरी पर्न थालेपछि झापा प्रहरीले गिरोह पक्राउ गर्न विशेष अभियान सुरु गरेको छ। प्रहरी विशेष अभियानको क्रममा प्रहरी कार्यालय झापाले यही महिनाभित्रै चोरीको १९ वटा मोटरसाइकलसहित १३ जनालाई पक्राउ गरेको छ। पक्राउ परेका १३ जनालाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा शुक्रबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो।

पक्राउ पर्नेहरूमा गौरादह नगरपालिका २ बस्ने १९ वर्षीय विजय चौधरी, सोही नगरपालिका ८ बस्ने २२ वर्षीय रोविन राजवंशी, बाह्दशी गाउँपालिका ७ बस्ने १९ वर्षीय विनोद मुर्मु, सोही गाउँपालिका ६ बस्ने १९ वर्षीय करण चौधरी, कमल गाउँपालिका ४ बस्ने केशव श्रेष्ठ, शिवसताक्षी नगरपालिका १ बस्ने किरण भण्डारी रहेका छन्। त्यसैगरी, इलाम चुलाचुली गाउँपालिका २ बस्ने सन्त श्रेष्ठ, शिवसताक्षी ५ बस्ने रमेश ताजपुरीया, सोही ठाउँका प्रेमबहादुर रिमाल, गौरादह नगरपालिका बस्ने सन्त लिम्बु, सोही ठाउँका प्रकाश न्यौपाने, दमक नगरपालिका ४ बस्ने बसन राई र कमल गाउँपालिका १ बस्ने रामु दमाई रहेको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेशकुमार मैनालीले जानकारी दिए।

उनीहरूलाई प्रहरीले झापाको विभिन्न स्थानबाट विभिन्न मितिमा चोरीको १९ वटा मोटरसाइकलसहित पक्राउ गरेको हो। बरामद गरिएको अधिकांश मोटरसाइकल बजाज कम्पनीको २२० सिसीको पल्सर रहेको जनाइएको छ। उनीहरूले चोरी गरिएको मोटरसाइकल पार्किङ स्थलबाट चोर्ने र नम्बर प्लेट परिवर्तन गरी बिक्री गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। बरामद गरिएको १९ वटा मोटरसाइकलमध्ये सात वटाको वास्तविक नम्बर खुलेको छ।

मे ९ प ४५५५, को १० प २६५१, मे ८ प ९३८३, मे ११ प १०१२, मे ५ प ९३९१, को ३१ प ९७७७ र मे ७ प ७६६३ मोटरसाइकलको नम्बर खुलेको डिएपसी श्रेष्ठले बताए। ‘नम्बर खुलेको मोटरसाइकल कानुन प्रक्रिया पूरा गरी सम्बन्धित धनीलाई बुझाउँछौ’, उनले भने, ‘धनीहरू कोही सम्पर्क आइसकेका छन् भने, कोही आउन बाँकी छ।’ नम्बर नखुलेको मोटरसाइकल यातायातबाट पहिचान गरी सम्बन्धित धनीलाई बुझाउने तयारीमा प्रहरी लागि परेको उनले बताए। यता पक्राउ परेका १३ जनालाई चोरी मुद्दामा कारबाही प्रक्रिया अघि बढाइसकेको उनको भनाई छ।