झापा । पहिलो हाफमै १-० गोलले पछि परेको अवस्थालाई उल्टाउँदै एपिएफ एफसी झापामा आयोजित दोेस्रो एक्स्ट्रिम महिला गोल्डकपको च्याम्पियन बनेको छ ।

 

खेलको ३१औँ मिनेटमा आर्मीले अग्रता लिएको थियो । आर्मीका लागि सुक्रिया मियाको क्रस पासमा बिमला चौधरीले गोल गरिन् । तर, खेलको ६०औँ मिनेटमा उत्कृष्ट पुनरागमन गरेको एपिएफले आर्मीलाई टाइब्रेकरमा स्तब्ध बनाएर गोल्डकपको च्याम्पियन बनेको हो ।

 

एपिएफले उपाधिसहित ११ लाख रुपैयाँ र आकर्षक ट्रपीm प्राप्त गरेको छ । उपविजेता भएको त्रिभुवन आर्मी फुटबल क्लबले ५ लाख ५० हजार रुपैयाँमा चित्त बुझायो ।

 

निर्धारित ९० मिनेटमा आर्मीसँग १–१ को बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा एपिएफले ४–२ गोलअन्तरले नतिजा आफ्नो पक्षमा पार्यो । एपिएफका गीता राना, निशा थोकर, रश्मिकुमारी घिसिङ, रेनुका नगरकोटीले गोल गरे भने आर्मीका तुलसा बोहोरा र सुस्मिता चौधरीले मात्र गोल गर्न सकेका थिए । आर्मीका यशोदा शाही र बिमला थापाको प्रहारलाई एपिएफका गोलकिपर एञ्जिला तुम्बापोले बचाइन् ।

 

खेलको प्लेयर अफ द म्याच विजेता एपिएफकी गोलकिपर एञ्जिला तुम्बापो भइन् । उनले १५ हजार रुपैयाँ पुरस्कार पाइन् । यसैगरी उत्कृष्ट गोलरक्षक पनि एञ्जिला नै भइन् । उनले यसवापत २५ हजार पाइन् ।

 

प्रतियोगितामा सर्वाधिक ९ गोल गरेकी एपिएफकी रश्मिकुमारी घिसिङ सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । उनले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाइन् । उनले सर्वाधिक गोलकर्ताको उपाधि जित्दै नगद २५ हजार पाउन सफल भइन् ।

 

उत्कृष्ट मिडफिल्डर एपिएफकी रेनुका नगरकोटी, उत्कृष्ट डिफेन्डर एपिएफकी गीता राना, उत्कृष्ट प्रशिक्षक एपिएफका जिवेसकुमार पाण्डे, उत्कृष्ट फरवार्ड आर्मीकी चन्द्रा भण्डारी घोषित भए । उनीहरुले जनही २५ हजार रुपैयाँ पुरस्कार पाए ।

 

मंसिर ५ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपाल, भारत र भुटानका ८ टिमको सहभागिता रहेको थियो । विजेता तथा उपविजेतालाई, प्रमुख अतिथि शिवसताक्षीका नगरप्रमुख मेगाहाङ थोप्रा, उपप्रमुख नरमाया कार्की, एन पेनाङ एफसीका उपाध्यक्ष नेत्रनारायण श्रेष्ठ, मुख्य प्रायोजक एक्स्ट्रिमका प्रतिनिधि राजन मल्लिक, झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङ, गोल्डकपका अध्यक्ष सन्तोष थोप्रा लगायतले पुरस्कार वितरण गरेका थिए ।