रमेश समदर्शी,
झापा । झापाको अर्जुनधारा नगरपालिकामा सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रम टुक्रे भए पनि प्रभावकारी भएको पाइएको छ । असार १ गतेदेखि २२ गतेसम्म अर्जुनधाराका विभिन्न ६ वटा वडामा प्रम रोजगार कार्यक्रम सञ्चालन भएको थियो । कार्यक्रम सञ्चालन भएका वडाको कार्यान्वयन पक्षको अनुगमन गरेपछि अनुगमन समितिकी संयोजक तथा नगरकी उपमेयर कमला खतिवडा आचार्यले छोटो समयमा आएको कार्यक्रम राम्रो भए पनि फिल्डमा टुक्रे भएको बताइन् । उनले भनिन्, ‘कार्यक्रम एकै ठाउँमा भएको भए प्रभावकारी हुन्थ्यो ।’
नगरपालिकाको बोर्ड बैठकले छनौट भएको स्थानमा वृक्षारोपण गर्ने निर्णय गरेको थियो । वृक्षारोपण गर्ने स्थानको छनौट भने नगर प्रमुख हरिकुमार रानाको संयोजकत्वमा गठित पाँच सदस्यीय प्रम रोजगार कार्यक्रम स्थानीय निर्देशक समितिले तय गरेको हो । तर, तोकिएको सबै स्थानमा वृक्षारोपणसँगै घेराबारा, भौतिक संरचना निर्माण सडकको नाली निर्माणसँगै बिरिङ जलाधार क्षेत्रमा २६ सय बाँसका बिरुवासमेत कार्यक्रमअन्तर्गत रोपिएको छ ।
अधिकांश ठाउँमा गरिएको वृक्षारोपण वैज्ञानिक ढंगबाट नभएको भन्दै अनुगमन समितिकी संयोजक आचार्य असन्तुष्ट जनाइन् । तर, अन्य स्थानीय तहमा भन्दा अर्जुनधारामा गरिएको कार्यक्रममा लगानी खेर नगएको उनको स्पष्टोक्ति थियो ।

कामदार छनौटमा समानुपातिक ढंगले नभएको भन्दै उनले सबै वडाबाट समान सहभागिता हुनुपर्ने औँल्याइन् । उनीहरुलाई समय अभावले सूचना प्रवाह गर्न नसकेको, छनौट भएका कामदारलाई पनि तालिम दिन नसक्दा सोचेअनुरुप काम गर्न नसकिएको उनको भनाइ थियो ।
वृक्षारोपण गरिएका केही ठाउँमा चुनौती रहेको भन्दै उनले संरक्षणका लागि स्थानीय सरोकारवालालाई जिम्मेवारी बोध गराएर अघि बढ्नुपर्ने टड्कारो आवश्यकता औँल्याइन् । समग्रमा आफू यस कार्यक्रमबाट सन्तुष्ट रहेको प्रतिक्रिया दिएकी उनले प्रम राज रोजगार कार्यक्रम नगरपालिकाले सदुपयोग गरेको सन्देश दिएको बताइन् ।
यस कार्यक्रमबाट दक्ष कामदारलाई नगरको पूर्वाधार व्यवस्थापनमा सदुपयोग गर्दै लगिने नगर प्रमुख रानाले बताए । कामदारले सीपको विकास गरेको खण्डमा स्थानीय तहको पनि सवल पक्ष देखिने उनको भनाइ थियो । उनले भने, ‘यसबाट आफ्नै श्रम, सीप आफ्नै नगरमा सदुपयोग हुन्छ ।’
आउँदो आर्थिक वर्षमा यो कार्यक्रम समयमै आएको खण्डमा महिला तथा बालबालिकामैत्री शौचालय निर्माणमा सदुपयो गरिने उनको योजना रहेको छ ।
नगरमा यस कार्यक्रमका लागि तीन हजार १४२ जनाले आवदेन दिएको भए पनि २७० जना अन्तिम छनौटमा परेका थिए । तर, १९३ जना मात्र सम्पर्कमा आइ नियमित काम गरेको रोजगार संयोजक केशव ढुंगेलले जानकारी दिए । उनका अनुसार ७ नम्बर वडाको जलेश्वरधामदेखि नारायणचोकसम्म नाली सरसफाइ, खेलमैदानमा वृक्षारोपण, कार्यालय परिसरमा पक्की चौतारा निर्माण, बगैँचा निर्माण र जलेश्वधामको पार्कभित्र बगैँचा निर्माण तथा वृक्षारोपण गरिएको छ ।
त्यस्तै, ३ नम्बरमा सुखानी तटबन्धमा वृक्षारोपण, ६ नम्बरमा पुष्पलाल चोकमा वृक्षारोपण तथा पार्क सजावट, ५ नम्बरमा बिरिङ खोला किनारमा बाँस रोपण, ९ नम्बरको पशु सेवा कार्यालय परिसरमा बगैँचा निर्माण, वृक्षारोपण तथा नमुना खोर निर्माण, ९ नम्बरकै कृष्ण प्रणामी मन्दिरमा बगैँचा निर्माणसँगै वृक्षारोपण, कालिस्थानमा बौद्ध गुम्वाको घेराबारा, बगैँचा निर्माण तथा वृक्षारोपण गरिएको छ ।
त्यस्तै, १० नम्बर वडाको पञ्चकन्या मन्दिर जाने बाटोमा नाली निर्माण, भद्रकाली मनिदरमा कम्पाउण्डभित्र बगैँचा निर्माण तथा वृक्षारोपण गर्ने काम प्रम रोजगार कार्यक्रममार्फत भएको छ । १९३ जनाले २२ दिन २० लाख २८ हजार ६७६ रुपैयाँ ज्यालावापत भुक्तानी गरिने रोजगार संयोजक ढुंगेलले जानकारी दिए । ज्यालावापत विनियोजित २१ लाखमध्ये ७२ हजार र सेफ्टी सामग्री खरिदवापतको केही रकम गरी करिब एक लाखजति फ्रिज हुने देखिएको छ । १९३ जनामध्ये महिलाको संख्या १४२ जना रहेका थिए ।
कार्यक्रमअनुरुप २६ सय बाँस रोपिएका छन् भने १२९२ सय विभिन्न जातका बिरुवा रोपिएका छन् । जसमा ४५ वटा रुद्राक्ष, ७५ वटा लिची, ९० वटा आँप, ६० वटा धुपी, ९१५ वटा विभिन्न फूल, १२ वटा कटहर, २५ वटा अशोका, २५ वटा गुलमोहर, २५ वटा गुलावी र २० वटा बेलका बिरुवा रोपिएका छन् ।
रोजगार संयोजक ढुंगेलले अनुगमनपछि समय अभाव भए पनि योजनाअनुसार नै कार्य सम्पादन भएको दाबी गरे । बजेटमा सीमा निर्धारण गरिएकाले सबै कामदारलाई सेफ्टी सामग्री दिन नसकिएको स्वीकारेका उनले परिस्थितिअनुसार काम चित्त बुझ्दो भएको प्रतिक्रिया दिए । उनको मूल्यांकनमा सबैभन्दा राम्रो काम ७ नम्बर वडामा निर्माण गरिएको पक्की चौतारा रहेको छ ।
मंगलबार गरिएको अनुगमन टोलीमा सञ्चारकर्मीसँगै नगरका मेयर राना, उपमेयर खतिवडा, रोजगार कार्यक्रम संयोजक ढुंगेल, ७ नम्बर वडाध्यक्ष नविन ढुंगाना, ९ नम्बर वडाध्यक्ष पुष्प प्रसाई, नगरकी प्रवक्ता सकुन्तला बराललगायत जनप्रतिनिधि रहेका थिए ।