काठमाडौँ- अविरल वर्षाको कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरो तथा डुबानमा परी शनिबार दिउँसोसम्म ३० जनाको ज्यान गएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ । बाढी पहिरोमा परी १८ जना बेपत्ता भएका छन् भने १२ जना घाइते भएका छन् ।

बाढी पहिरोमा परेका काठमाडौंमा १०८ जना, उदयपुरमा १० जना, ललितपुरमा ८ जना, सिन्धुलीमा २ जना, सिराहमा २ जना, भक्तपुर, सुनसरी र मकवानपुरमा १र१ जना गरी १३३ जनाको सकुशल उद्दार गरिएको छ। स्थानीय प्रहरी कार्यालय र विपद व्यवस्थापन महाशाखाबाट परिचालित टोलीले संयुक्त उद्धार गरेको थियो। बाढीपहिरोबाट धनमाल समेत क्षति भएको छ।

मृतकहरुको संख्या
बाढी पहिरोमा परी ललितपुरमा ५, काठमाडौं, खोटाङ, काभ्रेमा ३-३ जना, भोजपुर, मकवानपुर, धादिङ र सिन्धुलीमा २-२ जना तथा ओखलढुंगा, पर्सा, रामेछाप, ईलाम, झापा, सुनसरी, बारा र चितवनमा १-१ जना गरी ३० जनाको ज्यान गएको हो।

घाइतेहरु
मकवानपुरमा ४ जना, काभ्रेमा २ जना तथा खोटाङ, रामेछाप, धादिङ, दोलखा, सुनसरीमा र चितवन १र१ जना गरी १२ जना घाइते भएका हुन्।

बेपत्ताहरु
सिन्धुलीमा ४ जना, भोजपुरमा ३ जना तथा काठमाडौं, ललितपुर, पाँचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, पर्सा, महोत्तरी, रौतहट, धादिङमा १र१ जना गरी १८ जना बेपत्ता भएका छन्।

दिउँसो २ बजेसम्म बाढी तथा पहिरोबाट प्रभावित स्थानहरुमा सम्बन्धित प्रदेशका प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षकहरु सहित काठमाण्डौ उपत्यकामा ८८५६ जना, प्रदेश नं १ मा ६३०५ जना, प्रदेश नं २ मा ५७०२ जना, प्रदेश नं ३ मा ३४०५ जना , प्रदेश नं ६ मा ३११२ जना गरि २७,३८० प्रहरी कर्मचारीहरु परिचालित छन।

विभिन्न स्थानमा भएको बाटो अवरोध समेत प्रहरीले हटाउने कार्य गरिरहेको छ। यसै गरि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल समेत अवरोध हटाई हिजो साँझ ७ बजे बाट सुचारु गरिएको त्रि।अ विमानस्थल सुरक्षा गार्ड प्रहरीले जनाएको छ।