प्रदीप मेन्याङ्बो,
धरान । नेपालबाट भारतीय बजारमा निर्यात गरिने फलफूलमध्ये नेपाली सुन्तला कोलकातामा सूचीकृत नगरिएकाले क्वारेन्टाइन समस्या छ । मंसिरदेखि फागुनसम्म मात्र सुन्तलाको सिजन हुने भएकाले ठूला व्यवसायीले यसतर्फ ध्यान दिएका पनि छैनन् ।
वैधरूपमा नेपाली सुन्तला भारतीय बजारमा निर्यात भएको देखिँदैन । पूर्वी पहाडमा उत्पादित सुन्तला धरानको कृषि उपज बजारमा आइपुगेपछि त्यहीँबाट भारतीय व्यापारीहरूले झापाको काँकडभिट्टा र दक्षिणी नाका जोगबनीबाट सुटुक्क छिराउने गरेका छन् । क्वारेन्टाइनमा समस्या हुने भए पनि नेपालको पूर्वी पहाडमा उत्पादित ३५ प्रतिशत सुन्तला भारतीय बजारमा जाने गरेको किसान बताउँछन् ।
नेपाली सुन्तला बढी स्वादिलो भएकाले भारतीय उपभोक्तामा यसको माग छ । त्यसैले भारतीय व्यापारीहरूले अवैध बाटोबाट नेपाली सुन्तला लैजान गरेको किसानको भनाइ छ । ‘बोक्रा बाक्लो हुने भारतीय सुन्तलाको स्वाद पनि त्यति मिठो हुन्न,’ धरानस्थित कृषि उपज बजारका पूर्वअध्यक्षसमेत रहेका सुन्तला व्यवसायी काजी गिरीले भने, ‘पातलो बोक्रा हुने नेपाली सुन्तलाको स्वादै फरक हुन्छ । उपभोक्तालाई बढी फाइदा हुने भएकाले नेपाली सुन्तलाप्रति भारतीय उपभोक्ता आकर्षित भएका हुन् ।’
अनधिकृतरूपमा नेपाली सुन्तला भारतीय बजारमा पुग्दा नेपाली किसानलाई भने घाटा हुने गरेको छ । ‘किसानले पहाडबाट धरानका व्यापारीलाई थोक मूल्यमा बेच्छन्,’ कृषि उपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले भने । व्यापारीले पनि त्यस दिनको थोक मूल्यअनुसार अरू व्यवसायीलाई बेच्छन् । तर ती सुन्तला भारतीय बजारमा अनधिकृत रूपमा पुर्याउँदा मूल्य धेरै फरक भइसकेको हुन्छ । स्वादकै कारण भारतीयभन्दा नेपाली सुन्तला महँगो हुन्छ ।’
धरानमा आएका भारतीय व्यवसायीले झापा, मोरङ, सप्तरी, सिराहा र जनकपुर लैजाने भनेर सुन्तला किन्ने गरेका छन् । ‘नेपाली सुन्तलाको विषयमा सरकारले क्वारेन्टाइनको समस्या समाधान गर्न सके किसानले राम्रो मूल्य पाउने थिए,’ भट्टराईले भने ।
गत वर्षको तुलनामा यस वर्ष नेपालको पूर्वी पहाडमा सुन्तला उत्पादन बढेको किसान बताउँछन् । गत आवको माघ पहिलो सातासम्म २४ करोड रुपैयाँको २ हजार ४ सय टन सुन्तलाको कारोबार भएको थियो । यस वर्ष करिब ९ हजार ५ सय टन अर्थात् करिब १ अर्ब रुपैयाँ बराबरको कारोबार हुने अनुमान छ ।
मूल्य पनि २५ प्रतिशत बढेको छ । गत वर्ष यो समयमा प्रतिकिलो ८५ रुपैयाँ मूल्य रहेको सुन्तला यस वर्ष अहिले ११० रुपैयाँमा बिक्री भइरहेको छ । धरानमा अहिले दैनिक २५ देखि ३० टन सुन्तलाको कारोबार भइरहेको भट्टराईले बताए । धरानमा धनकुटाको बुधुक, बोधे, खोकु, भोजपुर, संखुवासभा, खोटाङ, तेह्रथुम, पाँचथर र ताप्लेजुङका किसानबाट व्यवसायीले सुन्तला ल्याएको आजको कान्तिपुर दैनिकमा खबर छ ।