झापा । सरकारले कोरोना संक्रमण नियन्त्रण गर्न घोषणा गरेको लकडाउनमा यातायात सञ्चालन हुन नसक्दा झापाका मिर्गौला रोगी मृत्युको मुखमा पुगेका छन् ।
डायलासिसका लागि आवश्यक पर्ने फ्ल्यूड (मिर्गौला सफा गर्ने तरल पदार्थ)को आयात बन्द हुँदा झापाका चार वटा अस्पतालले डायलासिस सेवा बन्द गर्ने अवस्थामा पुगेका छन् । यसका कारण झापाका १ सय ५० जनाभन्दा बढी मिर्गौला रोगी डायलासिस गर्नबाट वन्चित हुने भएका हुन् ।
बिर्तामोडको बिर्ता सिटी अस्पतालमा शनिबारबाट डायलासिस सेवा बन्द हुने भएको छ । अस्पतालका मेडिकल डाइरेक्टर डा. अनिल बस्नेतले हवाई र सडक यातायात बन्द हुँदा फ्ल्यूड आयात गर्न नसकेर बन्द गर्नु परेको बताए । डा. बस्नेतले भने, फ्ल्यूड आए पुनः सञ्चालन हुन्छ ।
ओमसाई पाथीभरा अस्पतालका संचालक साईराम पोखरेलले पनि फ्ल्यूडको अभावमा समस्या भएको बताए । पोखरेलले भने, एक दुई दिनभन्दा फ्ल्यूडले थेग्ने अवस्था छैन ।
मेची अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेट डा. पिताम्बर ठाकुरले फ्ल्यूड नआए तीनदेखि चार दिनपछि डायलासिस गर्न नसकिने बताउँछन् । कोरोनाको संक्रमणले होइन, मिर्गौला रोगी डायलासिस गर्न नपाएर मृत्यु हुन सक्ने उनको भनाइ छ । उनले तत्काल वैकल्पिक व्यवस्था नगर्ने हो भने ठुलो समस्या आउने सुझाए ।
बिर्तामोडको बिएण्डसी अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले अस्पताल भर्ना भएका बिरामीको मात्र डायलासिस गर्ने गरिएको बताए । फ्ल्यूडको अभावले बाहिरको बिरामीको डायलासिस गर्ने अवस्था नभएको उनको भनाइ छ ।
बिर्तासिटी अस्पतालमा ३२ जनामध्ये दैनिक १५ देखि १६ जनाले डायलासिस गर्ने गरेका छन् । मेची अञ्चल अस्पतालमा ३० जनामध्ये दैनिक १० जनासम्मले डायलासिस गर्ने गरेका छन् । त्यस्तै, ओमसाई पाथीभरामा ८४ जनामा दैनिक २० जनाले डायलासिस गर्ने गरेका छन् । तर, फ्ल्यूडको अभावमा झापाका अस्पतालको डायलासिस सेवा प्रभावित भएको छ ।
मिर्गौला रोगले थलिएका झापाका पुराना पत्रकार अमृतलाल श्रेष्ठले कोरोना संक्रमणले होइन, डायलासिस गर्न नपाएर मर्ने भइयो भन्दै चिन्ता प्रकट गरेका छन् । उनले सरकारले तत्काल फ्ल्यूड उपलब्ध नगाराउने हो भने झापामा मिर्गौला रोगीको मृत्यु हुने बताए ।
अर्जुनधाराका मिर्गौला रोगी भुपिन राईले फेसबुकमा सरकारलाई अनुरोध गर्दै मिर्गौला पीडितको उपचारलाई निरन्तरता दिन भनेका छन् । कोरोना भाइरसका कारण देखाएर उनीहरुको उपचारमा बाधा नपुराउन पनि उनले अनुरोध गरेका छन् ।