झापा । कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि अर्जुनधारा नगरपालिकाको स्वास्थ्य शाखाले विदेशबाट आउने व्यक्तिको घरमा पुगेर स्वास्थ्य परामर्शलाइृ जारी राखेको छ ।
स्वास्थ्य शाखाको टोलीले कोरोना संक्रमणको महामारी सुरु भएसँगै विदेशबाट आउने व्यक्तिको लगत संकलन सुरु गरेको हो । शाखा प्रमुख मुकुन्द बस्नेतको नेतृत्वमा परिचालित टोलीले नेपालमा लकडाउन सुरु भएको भोलिपल्टदेखि लगत संकलन गर्न सुरु गरेको थियो ।
शाखा प्रमुख बस्नेतका अनुसार नगरका ११ वटामा पुगेर संकलन गरेको लगतअनुसार ९३ जना होम क्वारेन्टाइनमा रहेका छन् । नगरले स्थापना गरेको क्वाइरेन्टाइनमा भने ५ जना रहेका छन् । क्वारेन्टाइनबाट दुई जना रेफर भइ होम क्वारेन्टाइनमा रहेको बस्नेतले जानकारी दिए ।
विदेशबाट आएका व्यक्तिको जानकारी पाएसँगै नगरमा रहेको रेपिड रेस्पोन्स टिम (आरआरटी) को टोली घरमै पुगेर जानकारी लिने, स्वास्थ्य परामर्श दिने र समस्या परेको खण्डमा चिकित्सकसँग सम्पर्क गर्न मोबाइल नम्बर दिने गरिएको उनले बताए ।
होम क्वारेन्टाइनमा रहेकामध्ये ७ जना बाहिर जिल्लाका रहेका छन् । ओखलढुंगा र सिन्धुलीका २ २ जना छन् भने कैलाली, डोल्पा र बाजुरका १ १ जना होम क्वारेन्टाइनमा रहेका छन् । उनीहरु भारतबाट आएका हुन् ।
होम क्वारेन्टाइनमा रहेका एक व्यक्तिमा ज्वरो आउने र घाँटी दुख्ने समस्या देखिएपछि थप उपचारका लागि धरान रेफर गरिएको शाखा प्रमुख बस्नेतले बताए । उनी विराटनगरबाट आएका थिए । त्यस्तै, ३ जना काठमाडौँबाट आएका छन् ।
होम क्वारेन्टाइनमा रहेका अन्य व्यक्ति भारतसँगै दुवई, कतार, साउदी अरब, मलेसिया, ओमन, बेलायत, कोरिया, अष्ट्रेलिया र फ्रान्सबाट आएका व्यक्ति छन् ।