काँकरभिट्टा । मेचीनगर ७ पुरानो भन्सारमा रहेको जागृत बाल उद्धार केन्द्रमा खाद्यान्न अभाव भएको छ ।

बाल गृहमा ८ जना बालिकासहित १४ जना बालबालिकाले आश्रय पाउँदै आएका छन् । लकडाउनका कारण स्टकमा चामल लगायतका खाद्यान्न सकिएर सङ्कट निम्तिएको केन्द्रका सञ्चालक समितिका सचिव विकास देवकोटाले बताए ।

‘चामलको स्टक रित्तिएको छ, भरे बेलुका नै पकाएर खुवाउने अन्न छैन,’ सचिव देवकोटाले भने–‘लकडाउन लम्बिएकाले बालबालिकाको विचल्ली भयो ।’

सात वर्षदेखि सञ्चालित सो बालगृहमा ६ वर्षदेखि १८ वर्षसम्मका असहायहरु बस्दै आएका छन् । उनीहरु सबै स्थानीय विद्यालय र क्याम्पसमा पढ्छन् ।

समितिका सचिव देवकोटाले दाताहरुसँग तत्काल सहयोगको आह्वान समेत गरेका छन् । उनलाई ९८५२६६३५२२ नम्बरमा सम्पर्क गर्न सकिनेछ । त्यहाँका बालबालिकालाई दाताले दिएको सहयोगमा भरणपोषण गरिदै आएको लोकतन्त्र पोष्टमा खबर छ ।