अम्बिका भण्डारी,
भद्रपुर । कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सरकारले लकडाउनलाई झन् कडा तुल्याउँदै लगेको छ । तर, लकडाउनमा ड्युटी गर्नैपर्ने बाध्यतामा रहेका फ्रन्टलाइनका सुरक्षाकर्मी (प्रहरी)ले भने न समयमा खान र न आराम नै गर्न पाएका छन् । सारा मानिस घरभित्र बस्दा उनीहरु तातो सडकमा चाउचाउको भरमा दिनभर ड्युटी गरिरहेका भेटिन्छन् ।
सोमबार भद्रपुर, चन्द्रगढी, पृथ्वीनगर, चारआली, धुलाबारी र बिर्तामोडमा अनुगमन गर्दा सामान्य मास्क र लौरो बोकेर तातो घाममा सडकमा उभिएका नेपाल प्रहरीको निकै कष्टकर अवस्था देखियो ।
‘जोखिम त हामीलाई पनि उत्तिकै छ,’ मेचीनगरस्थित राजमार्गमा लौरो बोकेर गस्तीमा खटिएका एक प्रहरी जवानले भने, ‘नागरिकको सेवा गर्ने कसम खाएर जागिरमा आएका हौं, यतिबेला आम मानिसले लकडाउनका कारण कष्टकर जीवन भोगिरहेका छन् । आफ्नो कुरा सोच्नै भ्याएका छैनौं ।’
उनीहरुसँग सामान्य मास्क थियो । जिद्दीवाल कतिपय नागरिकलाई सम्झाउँदा व्यहोर्नु परेको हैरानी प्रहरीको असिनपसिन् अनुहारमा प्रस्ट झल्किन्थ्यो । समयमा भात र खाजा खान नपाउने अवस्थाबाट गुज्रिएका प्रहरीहरु तैपनि शान्त थिए । यसलाई उनीहरुले कोरोनाले निम्त्याएको चौतर्फी सङ्कटका रुपमा बुझेका थिए ।
मेचीनगरको इटाभट्टामा प्रहरीको सानो बिट छ । केही मात्र प्रहरी खटाइएका छन् त्यहाँ । तर, उनीहरु साँघुरो कार्यालय कोठाको कुनामा पकाएको खाना खुला ठाउँमा बेञ्चमै बसेर खाइरहेका हुन्छन् । खाना खाँदै ड्युटी गर्नु पर्ने भएका कारण उनीहरुले बिट बाहिरै खाना खानुपर्ने अवस्था आएको हो ।
राजमार्ग र सहायक सडकहरुमा लकडाउन पालना गराउन आफ्ना सम्पूर्ण ९२ वटा युनिटलाई परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला बताउँछन् ।
सङ्कट र विपतका बेला भरपर्दो साथी बनेर आम नागरिकको सुरक्षा र हितमा प्रहरी समर्पित रहँदै आएको बताउँदै उनले कोभिड १९ को सङ्क्रमणबाट जोगिने विषयमा स्वयम्समेत सजग रहन ड्युटीमा खटिने प्रहरीलाई निर्देशन दिइएको जानकारी दिए ।
मास्कको अभाव नहोस् भनेर जिल्ला प्रहरी कार्यालय झापाले आफ्नै कार्यालयमा मास्क उत्पादन गरिरहेको छ । ती मास्क जिल्लाभरका प्रहरी युनिटहरुमा पुर्याइएका छन् । ड्युटीमा खटिने प्रहरीको भात न पानीको अवस्था देखेर दाताहरु समेत दयालु बन्न थालेका छन् ।
झापाको प्रहरीलाई जीवन विकास बैङ्कले ६०० कार्टुन पिउने पानी, ३० कार्टुन बिस्कुट र ८० कार्टुन चाउचाउ सहयोग दिएको छ । मनषा थाइफुड्सले ६० कार्टुन मगमग चाउचाउ र एसियन थाइफुड्सले ५० कार्टुन रमपम चाउचाउ दिएको छ । बुट्टाबारीका सरसफाई अभियन्ता गणेश ढुङ्गानाले विभिन्न दाताबाट जुटाएको पिउने पानीको बोतलहरु फिल्डमै पुगेर प्रहरीलाई बाँड्दै आएका छन् ।
सोमबार दिउँसो लकडाउनको अनुगमनमा पृथ्वीनगर पुगेका प्रहरी उपरीक्षक कोइरालाले हरेक युनिटलाई स्यानिटाइजर, पिउने पानीको कार्टुन, बिस्कुट र चाउचाउ वितरण गरे ।
प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाको नेतृत्वमा रहेको अनुगमन टोलीमा सशस्त्र प्रहरी उपरीक्षक रेशमकुमार थक्सु, प्रहरी उपरीक्षक कोइरालालगायत थिए ।
‘तपाईहरुका समस्याहरु के के छन् रु’ भन्दै अनुगमन टोलीले सडक र बजारमा खटिएका प्रहरीहरुलाई सोधेको थियो । ड्युटीमा खटिएका प्रहरीबाट समेत प्रजिअले लकडाउनको अवस्थाबारे जानकारी लिएका थिए ।
अनुगमनमा हिँडेका प्रहरी उपरीक्षक कोइरालाले जुन युनिटमा पुग्यो त्यहाँ पिउने पानीको कार्टुन, चाउचाउको पोको र स्यानिटाइजर दिएर ड्युटीका प्रहरीलाई हौसला थपेका थिए । ड्युटीको आलोपालो मिलाएर खाना खाने गरेता पनि उनीहरुले बजार र पसल बन्द भएका कारण दिउँसो खाजा नास्ता खान पाउने अवस्था छैन । त्यसबेला यही चाउचाउ र बिस्कुट उनीहरुको भोक मेटाउने भोजन बन्ने गरेको छ ।
कोरोना भाइरसलाई परास्त गर्न प्रहरी र सरकार मात्रै लागेर नपुग्ने प्रमुख जिल्ला अधिकारी राना बताउँछन् । ‘नागरिक समाजले समेत सघाउने र हातेमालो गर्ने बेला हो यो,’ प्रजिअ राना भन्छन्, ‘लकडाउनमा आम नागरिकलाई घरभित्रै बसिदिएर सहयोग पुर्याउन लगाउन स्थानीय सरकारको बढी भूमिका हुनुपर्छ ।’
प्रहरी उपरीक्षक कोइरालाले समेत स्थानीय सरकार र टोल विकास समितिहरुको पहलमा लकडाउनको अवस्थामा सर्वसाधारणको घरघरमा अत्यावश्यक सामग्री पुर्याउने व्यवस्था गरिनु पर्नेमा जोड दिए ।
उनका अनुसार धेरैजसो स्थानीय सरकारले जनप्रतिनिधि र टोल विकास संस्थाका अगुवाहरुलाई परिचालन गरेर लकडाउनलाई शतप्रतिशत सफल बनाइरहेको बताए । प्रहरीले टोल विकास संस्थाहरुलाई भरपूर सहयोग पुर्याइरहेको उनको भनाई छ ।
लकडाउन लम्बिदै जाँदा मानिसहरुलाई भोक र अभावले सताउने भएको हुँदा टोलटोलमा खाद्यान्नलगायतका अत्यावश्यक सेवा पुुर्याउन अहिले नै तयारी गरिसक्नु पर्ने अवस्था आएको प्रहरी उपरीक्षकको भनाई छ । उनका अनुसार टोलहरुमा खाद्यान्न लगायतका सामान ढुवानी गर्नका लागि प्रशासनले सवारी अनुमति पत्र दिने भएको छ ।
सुरुका दिनहरुमा झापामा लकडाउन उल्लङ्घन निकै चिन्ताजनक थियो । तर पछिल्ला दिनमा सर्वसाधारणमा चेतना आउन थालेको र लकडाउनको पूर्ण पालना हुन थालेको सरकारी अनुगमन टोलीको ठहर छ । लोकतन्त्र पोष्टबाट