झापा । कोरोना भाइरस (कोभिड १९)को संक्रमण रोक्न र नगरबासीमा संक्रमण हुनबाट सचेत गराउन खटिने स्वास्थ्यकर्मी तथा कर्मचारीलाई अर्जुनधारा नगरपालिकाले प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको छ ।
अर्जुनधारा नगरपालिकाको हिजो (मंगलबार) बसेको बोर्ड बैठकले उक्त निर्णय गरेको हो । बैठकको निर्णय नम्बर ३ मा भनिएको छ, ‘महामारी कोभिड १९ को नियन्त्रण तथा प्रतिकार्यसम्बन्धी कार्यहरुमा खटिएका स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरुलाई उपयुक्त तरिकाले प्रोत्साहन भत्ताको व्यवस्था मिलाउने ।’
तर, विपतका बेला खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई के कति प्रोत्साहन भत्तास्वरुप रकम उपलब्ध गराइने भन्नेबारे बैठकले निर्णय गरिनसकेको नगर प्रमुख हरिकुमार रानाले बताए ।
सोही बैठकले नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा रहेका व्यक्तिका लागि ५० वटा मेट्रेससहितको बेड खरिद गर्ने निर्णय पनि गरेको छ । जसका लागि प्रतिबेड चार हजार ८ सय रुपैयाँ विनियोजन गर्ने निर्णय गरेको छ ।