झापा । अर्जुनधारा नगरपालिकाले गठन गरेको खाद्यान्न व्यवस्थापन समितिले निर्धारण गरेको विपन्न परिवारका लागि राहत प्याकेज शुक्रबारदेखि वितरण गर्न सुरु गरेको छ ।
लकडाउनका कारण दैनिक रोजगारीबाट बञ्चित हुँदा खाद्यान्न अभाव भएका परिवारको सम्बन्धित वडा कार्यालयले नगरमा सिफारिस गरेको थियो । सोही सिफारिसबमोजिम खाद्यान्न व्यवस्थापन समितिले १५० विपन्न घरपरिवारका लागि वडा कार्यालयमा खाद्यान्न उपलब्ध गराएको थियो ।
शुक्रबार अर्जुनधारा १, ५ र ८ नम्बर वडामा खाद्यान्न वितरण गरिएको नगरपालिकाले जनाएको छ । १ नम्बर वडामा नगर प्रमुख हरिकुमार राना, वडाध्यक्ष, जनप्रतिनिधि, टोल विकास समितिका संयोजकलगायतको उपस्थितिमा राहत वितरण गरिएको हो ।
शुक्रबार नै ५ नम्बर वडा कार्यालयले पनि १५० घरपरिवारलाई राहत सामग्री वितरण गरेको छ । नगरले बिहीबार नै वडा कार्यालयमा खाद्यान्न उपलब्ध गराएको थियो ।
त्यसैगरी ८ नम्बर वडाले २ लाख २४ हजार ८४० रुपैयाँ थप गरेर ४७० विपन्न परिवारलाई राहत सामग्री वितरण गरेको नगरको जिन्सी शाखा प्रमुख तिवेन्द्र अधिकारीले बताए ।
उनका अनुसार नगरले १५० परिवारका लागि व्यवस्था गरे पनि थप ३२० परिवारलाई वडा कार्यालयले आफैँ व्यवस्थापन गरेको हो ।
नगर उपप्रमुख कमला खचिवडा आचार्यको संयोजकत्वमा नगरमा खाद्यान्न व्यवस्थापन समिति गठन गरिएको छ ।