झापा । कोरोना भाइरस (कोभिड १९) का बेला सरकारले जारी राखेको लकडाउनका बेला विपन्न वर्गलाई खाद्यान्न उपलब्ध गराउन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याव्सन) अर्जुनधारा नगर समितिले खाद्यान्न सहयोग गरेको छ ।

प्याव्सन अर्जुनधाराले आइतबार अनौपचारिक कार्यक्रम गरी अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार रानालाई एक लाख ५ हजार मूल्यबराबरको खाद्यान्न हस्तान्तरण गरेको छ । प्याव्सन झापाको परिपत्रअनुसार २५ क्वीन्टल चामल हस्तान्तरण गरिएको प्याव्सन अर्जुनधाराका सचिव राजेश आचार्यले जानकारी दिए ।

२५ किलोबराबरको एक सय बोरा चामल प्याब्सन अर्जुनधाराका अध्यक्ष रुद्रप्रसाद सिटौलाले नगर प्रमुख रानालाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा प्याव्सनका पदाधिकारीहरूकाे उपस्थिति रहेकाे थियाे ।

यसैगरी, लकडाउनका बेला दैनिक मजदुरी गरी परिवारको पालनपोषण गरिरहेका विपन्न वर्गका परिवारका लागि अहिले नगरपालिकामा सहयोगी हात बढिरहेको छ । नगरपालिकाले खडा गरेको विपद कोषमा शुक्रबार एकै दिनमा एक लाख १ हजार नगद जम्मा भएको थियो भने ३१ हजार ३६० रुपैयाँबराबरको खाद्यान्न उपलब्ध भएको थियो ।

नगरपालिकाका अनुसार शुक्रबार श्री कृष्ण प्रणामी सेवा समिति नेपाल सद्गुरु श्री देवचन्द्र सदन अर्जुनधारा–बिर्तामोड झापाले ५१ हजार रकम हस्तान्तरण गरेको हो । समितिका अध्यक्ष हरिप्रसाद कडरिया, सदन निर्माण समितिका अध्यक्ष कृष्णप्रसाद बजगाई, महासचिव शारदाप्रसाद थपलिया, कोषाध्यक्ष टहलदास ओली, सदस्य पुष्पप्रसाद आचार्यलगायतले संयुक्त रुपमा नगर प्रमुख हरिकुमार रानालाई हस्तान्तरण गरेको जनाइएको छ ।

त्यस्तै, कर्णाली बचत तथा ऋण सहकारी संस्था अर्जुनधारा शाखाले पनि नगद ५० हजार विपद कोषमा जम्मा गरेको छ । कर्णालीकी अर्जुनधारा शाखा अध्यक्ष गौरीमाया चिमरिया ९अस्मिता०ले नगर प्रमुख राना र उपप्रमुख कमला खतिवडा आचार्यलाई नगद हस्तान्तरण गरिन् ।

दैनिक ज्यालादारी गरेर जीविका चलाउँदै आएकालाई राहत उपलब्ध गराउने उदेश्यले अर्जुनधारा नगरपालिकाले स्थापना गरेको राहत कोषमा रकम उपलब्ध गराइएको अध्यक्ष चिमरियाले बताइन् ।

यस्तै, अर्जुनधारा दैवी प्रकोप व्यवस्थापन समूहले ३१ हजार ३६० रुपैयाँबराबरको ६ क्वीन्टल ९० केजी चामल नगरलाई उपलब्ध गराएको छ ।

त्यस्तै, बिर्तामोडको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले नगद ५० हजार, अर्जुनधारा ११ का गणेश ढुंगानाले डेढ क्वीन्टल चामल र बिर्तामोडका शान्ता जबेगु, गजेन्द्र जबेगुले १ सय कार्टुन पिउने पानी उपलब्ध गराएका थिए ।