झापा । अर्जुनधारा नगरपालिकाले ११ लाख ४१ हजार रुपैयाँ मूल्यको राहत सामग्री प्रदान गरेको छ । नगरपालिकाले पहिलो चरणमा अतिविपन्न वर्ग समुदायका १ हजार ६५० जनालाई राहत प्रदान गरेको हो ।
नगरका ११ वटै वडामा १५० जनाका दरले छनौट गरी राहत प्रदान गरिएको नगरप्रमुख हरिकुमार रानाले बताए । भोकले कोही पनि नमरुन् भन्ने उद्देश्यले राहत बाँडिएको उनले बताए । नगरपालिकाले प्रत्येक परिवारलाई चामल, दाल, नुन, साबुन र तेल लगायत अत्यावश्यकीय खाद्यान्न प्रदान गरेको हो ।
‘कतिपय वडामा १५० वटाभन्दा बढी विपन्नको सूची तयार भएको रहेछ’, नगर प्रमुख रानाले भने, ‘त्यस्तो ठाउँमा दैवीप्रकोप उद्दार कोषको रकमबाट पनि सामग्री खरिद गरेर वितरण गरिएको छ ।’ उनले सार्वजनिक खरिद ऐन २०६३ को दफा ४१ को उपदफा १ को घ ३ बमोजिम विशेष व्यवस्थापनलाई मध्यनजर गरी सामग्री खरिद गरिएको बताए ।
नगरले पहिलो चरणको खाद्यान्न वितरण सकिएको बताउँदै नगर प्रमुख रानाले अवस्था हेरी दोस्रो चरणको तयारी थाल्ने जानकारी दिए । अहिले नगरलाई विभिन्न संघसंस्था तथा व्यक्तिबाट राहत सामग्री उपलब्ध भइरहेको बताउँदै उनले एकद्वार प्रणालीको नीतिबाट नगरले खाद्यान्न वितरण गर्ने गरिएको दाबी गरे ।
नगरले पहिलो चरणमा प्रत्येक वडाका १५० घरपरिवारमा खाद्यान्न उपलब्ध गराएको भए पनि वडाहरुले छुट्टै व्यवस्थापन गरी तेब्बर संख्यामा विपन्न परिवारलाई खाद्यान्न उपलब्ध गराएको १० नम्बर वडाका अध्यक्ष बलदेव गोम्देनले बताए । आफ्नो वडामा ४५१ घरपरिवारलाई खाद्यान्न उपलब्ध गराएको पनि उनले जानकारी दिए ।
नगरका प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेलले कोभिड १९ को संक्रमणबाट बच्नका लागि स्वास्थ्य शाखाले १२ बेडको क्वारेन्टाइन सञ्चालनमा ल्याइसकेको जानकारी दिए । उक्त क्वारेन्टाइनमा अहिले ५ जना व्यक्ति रहेको बताइएको छ ।
त्यस्तै, शनिश्चरे माविमा ५० बेडको क्वारेन्टाइन तयारी अवस्थामा राखिएको उनको भनाइ छ । उनले अन्य रोगबाट नगरबासी ग्रसित हुन नपरोस् भनेर नगरका ५ स्थानमा फिभर क्लिनिक सञ्चालनमा ल्याइएको पनि जानकारी दिए ।
नगरकी प्रवक्ता सकुन्तला बरालले लकडाउन सुरु भएयता नगरले खाद्यान्न व्यवस्थापन तथा वितरणका बारेमा जानकारी गराएकी थिइन् ।