अर्जुनधारा । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउन उल्लंघन गर्नेलाई शुक्रबारदेखि शनिश्चरे बजारमा पनि उभ्याइन थालेको छ ।

लकडाउन उल्लघंन बढेपछि झापामा प्रहरीले बुधबारदेखि नयाँ रणनीति अपनाएको थियो । प्रहरीले लकडाउन उल्लंघन गर्नेलाई सडकमै २ घण्टा उभ्याएर कारवाही थालेको हो ।

बिहीबारदेखि भने झापा प्रहरीले मान्छेको भिडभाड हुने अलग अलग स्थानमा यो अभियानलाई विस्तार गरेको हो । जसअन्तर्गत अर्जुनधारा नगरपालिकाको शनिश्चरे बजारमा शुक्रबारदेखि सुरु गरिएको हो ।

शुक्रबार साँझ शनिश्चरे प्रहरी चौकी र अस्थायी ट्राफिक प्रहरी पोस्टको संयुक्त टोलीले लकडाउन उल्लंघन गर्ने ५० जनालाई उभ्याएको थियो । झापा प्रहरीले ‘टु आवरस् लकडाउन सेल’ नाम दिएर सामाजिक दूरीमा राखेर कारवाही थालेको हो ।