विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारको अबको जोड कोरोना संक्रमण पत्ता लगाउने परीक्षणमा केन्द्रित भएको बताउनुभएको छ ।
‘हामीहरु अहिले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको लडाइँमा छौं । यो भाइरस रोकथाम, नियन्त्रण र जनताको जीवन रक्षाका लागि देश लकडाउन भएको पनि आज १८ दिन भएको छ’, मुख्यमन्त्री राईले शुक्रबार भन्नुभएको छ, ‘यो भाइरस नियन्त्रणकै लागि अहिले पनि देश लकडाउनको अवस्थामा छ । अहिले हाम्रो प्रदेशबाटै कोरोना परीक्षण भइरहेको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट दिनमा १२ जनाको दरले स्वाब टेस्ट भइरहेको कुरा विदितै छ ।’
शुक्रबारबाट कोशी अस्पतालबाट कम्तिमा दिनमा ९६ जनाको स्वाब परीक्षण हुने गरी ल्याब सञ्चालनमा आएको छ । यो ल्याबको निरीक्षण शुक्रबार नै मुख्यमन्त्री राईले गर्नुभएको छ । राईले भन्नुभयो, ‘यहाँहरुलाई जानकारी गराउन चाहन्छु आजबाटै र्यापिड डाइग्नोष्टिक टेष्टको शुरुवात गरिएको छ । पहिलो चरणमा क्वारेन्टाइनमा रहेकाहरुको परीक्षण कार्य आजबाटै शुरु भएको छ ।’
केही दिनभित्रै झण्डै ६ हजार जनाको कोरोना ल्याब टेष्ट गर्न सकिने र यसलाई तीव्र्र गति दिइने मुख्यमन्त्रीको भनाइ छ । उहाँले यस प्रकार कोरोनालाई पराजित गर्न सरकार प्रदेशबासीको सुरक्षाको ग्यारेन्टी गर्न परीक्षण महत्पूर्ण हुने मुख्यमन्त्री राईको अपेक्षा छ ।
शुक्रबारसम्म १८० जनाको ‘थ्रोट स्वाब’ संकलन गरिएको छ भने १५२ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । उपलब्ध अत्यावश्यक स्वास्थ्य सामग्रीहरु सबै ठाउँ पठाइएको मुख्यमन्त्रीले बताउनुभएको छ ।
प्रदेशका ४८ स्थानमा ४३२ आइसोलेशन बेड बनेका छन् भने ४४ बेड संख्याको आइसीयू तयार भएका छन् । २६१ ठाउँमा ४ हजार १९८ वटा क्यारेन्टाइन बेड बनेका छन् । यी बनेका क्वारेन्टाइनमा ६०८ जना व्यक्तिलाई राखिएको छ । यस प्रदेशमा होम क्वारेन्टाइनमा ३ हजार २९५ जना रहेका छन् ।
क्वारेन्टाइनको रेखदेख मापदण्डअनुसार संचालनको अगुवाई सबै जिल्लामा नेपाली सेनाबाट हुने कुरा समेत मुख्यमन्त्री राईले अवगत गराउनुभएको छ । प्रदेश सरकारले स्थापना गरेको प्रदेश १ जनसुरक्षा कोषमा १२ करोड ८७ लाख ६६ हजार ६ सय ५३ रुपैयाँ जम्मा भएको पनि मुख्यमन्त्री राईले जानकारी दिनुभएको छ ।
मुख्यमन्त्री राईले भन्नुभयो, ‘हामीले कोरोना भाइरस (कोभिड १९) नियन्त्रण, रोकथाम तथा उपचार कार्यमा प्रदेश सरकार वा सो मातहतका निकायले खटाएका स्वास्थ्य क्षेत्रका जनशक्तिहरूलाई नेपाल सरकारले निर्धारण गरेबमोजिम दोहोरो नपर्ने गरी प्रोत्साहन भत्ता प्रदान गर्ने निर्णय गरिसकेका छौं ।’
मुख्यमन्त्री राईले उच्च मनोबलका साथ सामाजिक दूरी कायम गर्ने, भाइरसबाट संक्रमित हुनबाट बच्ने र अनुशासनको पालना गर्दै अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र लकडाउनको पूर्णरुपले पालना गर्न प्रदेशबासीलाई अपिल पनि गर्नु भएको छ ।